close

त्रियुगाको साउनेमा स्वास्थ्य चौकी भवन उद्घाटन

त्रियुगाको साउनेमा स्वास्थ्य चौकी भवन उद्घाटन

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेमा नवनिर्मित प्रसूति सेवा भवनको उद्घाटन गरिएको छ । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न नयाँ भवन निर्माण गरिएको हो । 

 

नवनिर्मित भवनको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले उद्घाटन गरे । नगरप्रमुख चौधरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको बताए ।


स्वच्छ नागरिकबिना समृद्धि हासिल गर्न नसकिने भएकाले नगरले हरेक वडामा भौतिक पूर्वाधारयुक्त स्वास्थ्य संस्था स्थापना गरी हरेक नागरिकलाई निरोगी बनाउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

 

नगरका सबै नागरिकले घरआँगनमै आधारभूत स्वास्थ्य सेवा पाउन् भनेर हरेक वडामा स्वास्थ्य सेवा पुर्‍याइँदै आएको नगर प्रमुख चौधरीको भनाइ छ ।

 

भवन निर्माण जनतासँग मेयर कार्यक्रमअन्तर्गत २०७७/०७८ मा ३३ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो । शौचालयसहित ४ कोठाको भवन निर्माण गरिएको वडाध्यक्ष कुरुङ राईले बताए । 


भवनमा प्रसूति स्वास्थ्य सेवा सञ्चालन गरिने र अन्य बिरामीलाई माझगाउँमा रहेको स्वास्थ्य चौकीबाटै सेवा लिन सकिने वडा सदस्य हेमराज मगरले जानकारी दिए ।


त्यसैगरी जनतासँग मेयर कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको २ सय ५२ मिटरको सिँढीको समेत उद्घाटन गरिएको छ । साउने चोकबाट डाँडाटोल जाने सिँढी निर्माण गरिएको हो ।