close

सुनसरीका मुस्लिम समुदायमा बकर इदको रमझम (भिडियाेसहित)

सुनसरीका मुस्लिम समुदायमा बकर इदको रमझम (भिडियाेसहित)

ADVERTISEMENT

सुनसरी- मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद (इदुल अजहा) पर्व बुधबार यहाँका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासका साथ मनाउँदै छन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाललगायत विश्वभरका मुस्लिम समुदायले मनाउने गर्छन् ।

 

यो दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने प्रावधान छ ।

 

सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ स्थित भुटाहास्थित देशकै सबैभन्दा ठूलो इदगाहमा २ वर्ष पहिला ५० हजार बढीले सामूहिक रूपमा इद र बकर इदको नमाज पढ्ने गर्थे । तर, २ वर्षदेखि कोरोना संक्रमणका कारण देशकै ठूलो इदगाह भुटाहामा १० देखि १५ जनाले मात्रै सामूहिक रूपमा सामाजिक दूरी कायम गरी इद र बकर इदको नमाज पढेका छन् ।


कोरोना महामारीको संक्रमण फैलन सक्ने आशंकामा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले विज्ञप्ति जारी गरी आ-आफ्नै ठाउँ तथा घरमा बसेर सुरक्षित रूपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

 

त्यसगरी भुटाहा इदगाह कमिटीले पनि विज्ञप्ति जारी गरी घरमै बसेर बकर इद पर्व मनाउन मुस्लिम समुदायलाई आग्रह गरेको छ । सुनसरी जिल्लाभरका मस्जिद, इदगाहलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्छ ।

 

बकर इद पर्व मुस्लिम समुदायले ३ दिन मनाउने गर्छन् । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामका ५ आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

 

हिजरी संवत्अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्मायल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इदगाह भुटाहाका धर्मगुरु मोलाना सविर नदवीले जानकारी दिए ।