close

बुद्धभूमिमा स्मार्ट कृषिकाे तरक्की (भिडियो खबर)

बुद्धभूमिमा स्मार्ट कृषिकाे तरक्की (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- कृषि उत्पादनमा दोब्बर वृद्धि गराउनका लागि लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । २०७५ साल देखि प्रदेश सरकारले नमुना कार्यक्रमको रूपमा ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रमले राज्यको पहुँच नपुगेका कृषकको सहयोगी हुँदै आएको छ । खाद्यान्न, तरकारी, फलफूल तथा पशुपालनमा कृषकलाई सहयोग पुर्‍याउन सञ्चालन भएको कार्यक्रम अन्तर्गत कपिलवस्तुको बुद्धभूमि- ६ महुवाका पशुपालक कृषक वर्षौपछि बल्ल आधुनिकता तर्फ लम्किन सुरु गरेका छन् । 


वर्षौ देखिको परम्परागत भैँसीपालन अब आधुनिकतातर्फ जान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरेपछि पशुपालक कृषक राज्यबाट पहिलो पटक लाभान्वित भएका छन् । भैँसी पालक कृषकलाई सहयोग गर्ने उद्देश्यले महुवा, पण्डितपुर र सेमरना गाउँलाई लक्षित गरी कार्यक्रम लागु भएको छ । कार्यक्रम लागु भएपछि कृषकले आधुनिक गोठ निर्माण गरेका छन् ।


गत आर्थिक वर्षमा कृषिमा आधुनिकीकरण ल्याउन लुम्बिनी प्रदेश सरकारको तर्फबाट ४० लाख र समुदायको तर्फबाट १३ लाख १५ हजार खर्च गरिएको छ । कार्यक्रम अन्र्तगत यस वर्ष २० कृषकका भैसी गोठ सुधार, भैसीलाई पानी खुवाउन १० ह्याण्डपम्प, घाँस खेतीका लागी १२ स्यालो ट्युबवेल जडान गरिएको छ । सरकारको सहयोग नहुँदा यहाँका कृषकले कच्ची गोठमा भैँसी पालन गर्दै आएका थिए । यादव समुदायको मुख्य बसोवास भएको यस क्षेत्रमा मुख्य पेसाको रूपमा भैँसी पालन र तरकारी  खेती गर्ने गरिन्छ । 


गोठ सुधारका लागि ७०÷३० साझेदारीमा प्रदेश सरकारको तर्फबाट १ लाख ३५ हजार सहयोग गरिने कार्यक्रम अन्तर्गत जलवायु, सिँचाई, प्रविधि मैत्री र बजार व्यवस्थापनमा सुधार हुने बताइएको छ । प्रविधि मैत्री बनाउनका लागि कम्प्युटर सहयोग भएको छ । न्युनतम ५ भैँसी भएको कृषकलाई कार्यक्रममा समावेश गराइएको छ । कार्यक्रमबाट ८५ घर परिवारका ४ सय ५६ जना कृषक लाभान्वित भएका छन् ।


कृषि उत्पादनका लागि नमुना गाउँ बनाउने अभियानका साथ सञ्चालन भएको कार्यक्रमका कारण संकटमा परेका पेसा उकास्न सुरु भएको छ । नमुना कार्यक्रमको रूपमा सञ्चालन भएको कार्यक्रमले कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने भएकोले कार्यक्रम प्रति कृषकको चासो समेत बढेको छ ।