close

दलविहीन गाउँ बन्यो हुम्लाको लामाखोल्सी

नेतृत्वमा पुगेका तीनै पार्टीका नेताहरू जनताभन्दा सत्ता र भत्तामा रमाएपछि विरोधस्वरूप गाउँलेले गरे कुनै दलमा आबद्ध नहुने सामूहिक वाचाकसम 

दलविहीन गाउँ बन्यो हुम्लाको लामाखोल्सी

नेतृत्वमा पुगेका तीनै पार्टीका नेताहरू जनताभन्दा सत्ता र भत्तामा रमाएपछि विरोधस्वरूप गाउँलेले गरे कुनै दलमा आबद्ध नहुने सामूहिक वाचाकसम 

Trulli
ADVERTISEMENT

सीमकोट– हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका वडा नम्बर ३ लामाखोल्सी गाउँ अब दलविहीन गाउँ बनेको छ । मंगलबार गाउँका सबै स्थानीयको सामूहिक भेलाले कुनै पनि व्यक्ति कुनै पनि दलमा नलाग्ने घोषणा गरेको हो ।

 

घोषणासँगै ३१ घरधुरी भएको लामाखोल्सी अबदेखि दलविहीन गाउँ बनेको हो ।

 

पछिल्लो समय प्रतिनिधिसभा र विभिन्न प्रदेशसभाका सांसदले व्यक्तिगत स्वार्थमा लागेर पार्टी निर्देशनविपरीत यताउता गरेका घटना सार्वजनिक भएपछि कुनै पनि दल र तिनका नेताको बोली र व्यवहार फरक भएकाले आफूहरूले सामूहिक रूपमै दल त्यागको घोषणा गरेको कांग्रेसबाट निर्वाचित नाम्खा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तञ्जन लामाले जानकारी दिए ।

 

‘पछिल्लो समय सबै दल व्यक्तिगत स्वार्थमा लागे । हामीलाई निर्वाचनमा दिएका आश्वासन कुनै पनि पूरा गरेनन्’, लामाले भने, ‘दल र नेताको व्यक्तिगत स्वार्थमा गाउँमा किन विवाद बढाउने भनेर हामीले गाउँलाई दलविहीन बनाउँदै स्वतन्त्र बन्ने निर्णयमा पुगेका हौँ ।’

 

एमाले, कांग्रेस र माओवादी केन्द्रका तर्फबाट वडामा निर्वाचित वडा सदस्य, तीनवटै पार्टीका पालिका र वडा स्तरका जिम्मेवार व्यक्ति बसेर वडालाई दलविहीन घोषणा गरेको एमाले नाम्खा गाउँपालिका सदस्य पेमारिक्जाङ लामाले बताए ।

 

लामो समयदेखि आफू एमालेमा रहेर काम गरे पनि नेताको मौखिक आश्वासन व्यवहारमा लागू नहुँदा दिक्दारी लागेको सुनाए । 

 

एमालेले प्रदेश र संघमा समेत सरकार चलाए पनि गाउँलाई विकासका हिसाबले वास्ता नगरेकाले बाध्य भएर गाउँलेको प्रस्तावमा स्वतन्त्र बनेको उल्लेख गरे ।
‘अब हाम्रो पूरै गाउँमा कुनै पनि दल छैनन् । हामी गाउँको दलका रूपमा रहने सल्लाहअनुसार सबैले यसअघि आबद्ध दल त्यागेका हौँ’, लामाले थपे ।

 

जुन पार्टी आए पनि आफ्नो स्वार्थ र आफन्तको भविष्यमै केन्द्रित हुने प्रवृत्ति दोहोरिएपछि सबै आफू आबद्ध दल त्याग्न तयार भएको माओवादी केन्द्र नाम्खा गाउँपालिका कमिटीका सचिवालय सदस्य तोप्छेन लामाले बताए ।

 

गाउँको संयुक्त बैठकमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तञ्जन लामा, एमालेबाट निर्वाचित नाम्खा गाउँकार्यपालिका सदस्य लैकु लामाले पनि दल त्यागेर स्वतन्त्र बनेको घोषणा गरेका छन् । गाउँलेको घोषणासँगै खोल्सी हुम्लाकै पहिलो दलविहीन गाउँ बनेको छ ।