close

तीला नदीमाथिको पक्की पुलले जोडियो जुम्ला–जाजरकोट 

तीला नदीमाथिको पक्की पुलले जोडियो जुम्ला–जाजरकोट 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लादेखि जाजरकोट जोड्ने तिला नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको छ । तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण सम्पन्न भएको हो ।

 

पुल निर्माणपछि कर्णाली राजमार्गदेखि जुम्लाको भेरीखोला र जाजरकोटसम्म यात्रा गर्न सहज हुनेछ । तिला नदीको त्रिवेणीमा ५२ दशमलव १५ मिटरको पक्की पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।

 

कार्यालय प्रमुख रुपबहादुर रावलका अनुसार ४ करोड १२ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । ५ असार २०७३ मा निर्माण सम्झौता भएको उक्त पुल लामो प्रयासपछि सम्पन्न भएको हो । कार्यालय प्रमुख रावलका अनुसार तत्कालीन प्राविधिक कार्यालयले सुरु गरेको उक्त पुल ३१ जेठ २०७५ मा सम्पन्न हुनुपर्नेमा अलपत्र परेपछि संघीय संरचनापछि पुनर्जीवित भएको हो ।

 

पूर्वाधार विकास कार्यालयको सुरुआतसँगै पुल निर्माणले गति लिएको थियो । ठेक्का नम्बर ०२/एनएलबी आरसिसी ब्रिज २०७२/७३ को रहेको पुलको २०७५ मा पुनः म्याद थप गरिएको थियो । कर्णाली प्रदेशकै पहिलो हाइरिक्स प्रविधिले पुल निर्माण भएकाले जटिल प्रकृतिको रहेको पूर्वाधार कार्यालयले बताएको छ ।

 

लामो समयदेखि निर्माण सुरु भए पनि अलपत्र उक्त पुल निर्माण जुम्लाको साविक ताम्ती गाविस, हाल तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ वडामा निर्माण गरिएको छ । यहाँबाट जाजरकोट जाने यात्रुलाई सजिलो हुनेछ ।

 

जाजरकोटबाट जुम्ला भित्रिने सबैभन्दा सजिलो सिमानामा कच्ची बाटो पुर्याउन उक्त स्थानमा कार्यालयले २ करोड १९ लाख रुपैयाँ लागत खर्चिएर कच्ची सडक पनि बनाइरहेको छ । जुम्ला सिमाना इमिल्चा हँुदै जाजरकोटसम्म कच्ची सडकका लागि काम भइरहेको छ । 

 

कर्णाली राजमार्गमा बने १२ पुल

 

गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुल निर्माण भएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३÷७४ देखि निर्माण थालिएका ती पुल गत वर्ष सम्पन्न भएको जनाएको हो ।

 

कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा बर्खाका बेला जोखिम बढेको थियो ।

 

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले २०७४ जेठदेखि निर्माण थालिएकामध्ये तिलाखोलाबाहेक सबै पुल २०७७ पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए ।

 

तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो । सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् ।

 

४२ करोड ४५ लाख ४९ हजार ४४४ रुपैयाँ लागतमा ती पुल निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनियर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार कार्य सम्पन्न भएको बताए । 

 

‘रिफ्रेस सेन्टर’

 

यातायात व्यवस्था विभागले मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेखको साईगाउँमा सुविधासम्पन्न रिफ्रेस सेन्टर निर्माण गरेको छ । 

 

रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपांगतामैत्री शौचालय, खानेपानी, खाजाघर, यात्रु प्रतीक्षालय, गार्डरुम, बाथरुमलगायत संरचना निर्माण गरिएको छ ।

 

यातायात व्यवस्था विभागको ३ करोड ३५ लाख रुपैयाँ लागतमा मजदुर कन्स्ट्रक्सनले निर्माण जिम्मेवारी पाएको थियो । विभागका साइड इन्जिनियर धीरजकुमार साहले मध्यपहाडी लोकमार्गमा ३०÷३० मिटरको दूरीमा रिफ्रेस सेन्टर निर्माण गरिएको बताए ।

 

यातायात व्यवस्था विभागले लामो रुटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र यात्रुका लागि रिफ्रेस सेन्टर सञ्चालनको अवधारणा ल्याएको हो । 

 

कर्णाली राजमार्ग अवरुद्ध
 

मंगलबार रातीको अविरल वर्षाका कारण कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर २ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।अवरुद्ध राजमार्ग खुलाउन डोजर प्रयोग गरिएको वडा नम्बर २ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए ।

 

‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ’, उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’

 

पहिरोका कारण यात्रु अलपत्र पर्नुका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रक बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर विष्टले जानकारी दिए ।

 

अवरुद्ध राजमार्ग खुलाउन डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै राजमार्ग खुला हुन्छ ।’