close

पृथ्वी राजमार्गमै फस्छ एम्बुलेन्स !

पृथ्वी राजमार्गमै फस्छ एम्बुलेन्स !

Trulli
ADVERTISEMENT

तनहुँ- मंगलबार दिउँसो १ बजे बिरामी बोकेर एउटा एम्बुलेन्स पोखरातर्फ हुइँकिँदै थियो । बिरामीलाई चाँडोभन्दा चाँडो अस्पताल पुर्‍याउन हुइँकिएको म्याग्दे गाउँपालिकाको एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ हलेदीस्थित पृथ्वी राजमार्गमै फस्यो । जलमग्न सडक, कालोपत्रे उप्किएर बनेको खाडल छल्न खोज्दा खोज्दै एम्बुलेन्स नालाको नजिक फस्यो । 


‘सडकमा जाम थियो । कुनापट्टिबाट जाम छलेर जान खोज्दा झनै फस्यो’, एम्बुलेन्स चालक टेकनारायण श्रेष्ठले सुनाए । निकाल्न खोज्दा चालकको केही सीप नलाएर रोकिएको एम्बुलेन्सभित्र छट्पटाइरहेका बिरामीले भन्दै थिए, ‘मेरो जिन्दगी यही जालाजस्तो छ ।’ 

 

करिब १५ मिनेट रोकिएको एम्बुलेन्सलाई जेसिबी लगाएर निकालियो । नालीमा पसेको एम्बुलेन्स ननिकाल्दै त्यहीँनेर भ्यान बीच बाटोमै फस्यो । यस्तो क्रम यहाँ चलिरहन्छ । कहिले बाइक पल्टन्छ । कहिले कार रोकिन्छ । कहिले स्थानीयले त कहिले यात्रुले नै धकलेर निकाल्छन्, फसेका सवारी ।


दैनिक हजारौँ गाडी गुड्ने राजमार्ग समयमै मर्मत हुनुपर्ने एम्बुलेन्स चालक श्रेष्ठ बताउँछन् । ‘यस्तो सडकमा एम्बुलेन्स गुडाउँदा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिँदैन’, उनी भन्छन्, ‘गाडीका पार्टपुर्जा पनि चाँडै बिग्रन्छन् ।’ दुई पांग्रेदेखि ठूला मालवाहक सवारीले बडो कष्टकरपूर्ण तरिकाले यो सडक पार गर्नुपरेको छ । कष्टकरपूर्ण यात्रा गर्नुपर्दा धेरैले भन्छन्, ‘छ्या यस्तो पनि राजमार्ग हुन्छ र ? नेता मन्त्री कोही पनि यो बाटो हिँड्दैनन् कि क्या हो !’

 

संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेश राजधानी पोखरा जोड्ने एक मात्र सडक हो, पृथ्वी राजमार्ग । देशका धेरै भू–भागबाट पोखरा आउजाउ गर्न यही राजमार्ग प्रयोग हुन्छ । गण्डकी प्रदेशबासीको लाइफ लाइनको रूपमा रहेको पृथ्वी राजमार्गको तनहुँ हलेदी–कोत्रे सडक खण्डको अवस्था कन्तविजोग छ ।

 

राजमार्गमा पासो थाप्ने खाडल छन् । त्यही खाडलमा पानी जमेर जलमग्न बन्छ । दैनिक हजारौँ सवारी गुड्ने देशकै एक प्रमुख राजमार्गको यात्रा हिउँद÷बर्खा सधैँ कष्टकर बन्छ । बर्खामा खाडलमा पानी जमेर धान रोप्न मिल्नेजस्तो देखिन्छ । भत्किएको सडक बेलामै मर्मत नहुदाँ दुर्घटना बढेको स्थानीय सुरेन्द्र तामाङ बताउँछन् । सडक मर्मतमा कसैको ध्यान नजाने उनको भनाइ छ ।

 

‘सडक मर्मतका लागि सडक डिभिजन कार्यालय पुग्दा ४ लेनको बनाउन ठेक्का लाग्यो भन्छन् । भत्किएपछि बेलामै बनाउन न स्थानीय सरकारको ध्यान जान्छ , न त प्रदेश र संघको’, उनले भने ।

 

विगत वर्षमा सडक मर्मत गर्दासमेत वर्ष दिन पनि नटिक्ने समस्या रहेको तामाङले बताए । सडकमा दोहोरो नाला आवश्यक रहेको उनको भनाइ छ । ‘दोहोरो नाला छैन । मास्तिरबाट आएको पानीको निकास नभएर सडक जलमग्न हुन्छ र भत्किन थाल्छ । दुईतर्फी नाला बनाएर पानीको निकास भए यस्तो समस्या हँुदैन्थ्यो’, उनले भने । यो ठाउँको भौगलिकतालाई ध्यान दिएर पानी नजम्ने गरी सडक अग्लो बनाउन उनको सुझाव छ । 


मंगलबारदेखि सडक मर्मत थालेको सडक डिभिजन कार्यालय तनहुँले जानकारी दिएको छ । ‘यातायात सञ्चालनमा सहज बनाउन स्थानीय म्याट्रियलले खाल्डो पुर्दै छौँ । अस्थायी समाधान हुनेछ । बर्खाका बेला कालोपत्रे गर्ने सम्भावना हुँदैन’, कार्यालय प्रमुख अमितकुमार श्रेष्ठले भने ।

 

सडक ४ लेनको बनेपछि स्थायी समाधान हुने उनले जनाए । ४ लेनको सडक बनाउन सम्झौता भएर अबको १५ दिनभित्र काम सुरु हुने उनको भनाइ छ । उनी भन्छन्, ‘४ लेनको सडक बन्दा नयाँ संरचना बन्छ । स्थायी समाधान हुन्छ । ठेक्का लागिसक्यो । तत्कालै मर्मतबाहेक नयाँ काम गराउन पनि अप्ठेरो भएको छ ।’

 

पानीको निकास हुन नपाउँदा हलेदी–कोत्रे सडक बिग्रेको श्रेष्ठले बताए । नाली र कल्भर्ट पुरिएर सडक जलमग्न हुँदा यो सडक खण्ड चाँडै भत्कने समस्या रहेको उनले जानकारी दिए ।