close

अपारदर्शी स्थानीय तह: वेबसाइट छन्, अपडेट छैनन् 

अपारदर्शी स्थानीय तह: वेबसाइट छन्, अपडेट छैनन् 

Trulli
ADVERTISEMENT

खोटाङ-  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरसभा गत असार २६ गते सम्पन्न भयो । १५ वडा रहेको नगरपालिकाले नगरसभामार्फत आर्थिक वर्ष २०७८/०७९ का लागि ८५ करोड बढीको बजेटसँगै नीति तथा कार्यक्रम ल्याए । तर, नगरपालिकाको आधिकारिक वेवसाइटमा भने ‘आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रमको संक्षिप्त विवरण’ मात्र प्रकाशित छ । 

 

सो संक्षिप्त विवरणभित्र कुन शिर्षकमा, कति बजेट विनियोजन गरिएको छ भन्ने बुझ्न सकिन्न । विवरणमा संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त भएका बजेट तथा आन्तरिक श्रोतबाट हुने आयव्यायको अनुमानित वितरण मात्र राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालसम्म आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम समेत वेवसाइटमा अपडेट गरेको छैन । त्यसो त सो नगरपालिकाले यसअघिका आर्थिक वर्षका बजेट, नीति तथा कार्यक्रम समेत आफ्नो वेवसाइटमा राखेको देखिन्न । 

 

जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । त्यसमध्ये हलेसी तुवाचुङ नगरपालिकाको अवस्था पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको भन्दा फरक देखिन्न । हलेसी तुवाचुङ नगरपालिकाले नगरसभामार्फत पास गरिएका आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रमको संक्षिप्त विवरण मात्र राखेको छ । तर कुन वडामा, कुन योजना तथा कार्यक्रममा कति बजेट विनियोजन गरिए भन्ने बुझ्नु परे भने कार्यालयमै पुगेर माग्नुपर्ने अवस्था छ । 

 

यस्तै, रावाबेँसी गाउँपालिकाले पनि गाउँसभामार्फत पास भएको आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रमको संक्षिप्त विवरण मात्र वेवसाईटमा राखेको छ । केपिलासगढी गाउँपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ गाउँसभामा पेश भएको बजेट विवरण मात्र राखेको छ । जन्तेढुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम राखेको छ, तर बजेट विवरण राखेको छैन । खोटेहाङ गाउँपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मात्र आफ्नो वेवसाईटमा समावेस गरेको देखिन्छ । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम केही पनि वेवसाइटमा राखेको पाइन्न । 

 

जिल्लाका १० स्थानीय तहमध्ये साकेला गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मात्र आर्थिक वर्ष २०७८÷०७९ को बजेट, नीति तथा कार्यक्रम दुबैलाई आफ्नो वेवसाईटमा राखेको देखिन्छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम शिर्षकभित्रै ब्रेकडाउन गरेको बजेटको विवरण प्रकाशित गरेको छ । 

 

अन्य स्थानीय तहको तुलनामा साकेला गाउँपालिकाले मात्र ब्रेकडाउन गरेको बजेट विवरण आफ्नो वेवसाईटमा सार्वजनिक गरेको पाइएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमलाई छुट्टाछुट्टै अपडेट गरेको पाइएको छ । तर, बजेट वक्तव्यमा विनियोजित बजेटको विस्तृत विवरण राखेको देखिन्न ।

 

 ऐसेलुखर्क गाउँपालिकाको वेवसाईटमा पनि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८/०७९ को राजस्व र आयको अनुमान शिर्षकमा विवरण राखिएको छ । तर, सो गाउँपालिकाको ‘ब्रेकडाउन’ गरिएको बजेट विवरण राखिएको देखिन्न । 


खोटाङका स्थानीय तहले आफ्नो प्रचारका तथा सूचना सम्वन्धी सामग्री मात्र वेवसाइटमा नियमित अपडेट गरेको देखिन्छ । तर, बजेटजस्तो जनचासोका विषयलाई भने वेवसाइटमा नराखेर लुकाउने गरेको देखिएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

 

‘ज–जसले सुशासनको कुरा धेरै गर्नुहुन्छ, उहाँहरुले नेतृत्व गरेकै स्थानीय तहको वेवसाईटमा बजेट विवरण अपडेट गरेको देखिन्न । यसभित्र कतिपयको आफ्नो गोजीको मान्छेलाई योजना दिने मनसाय पनि हुनसक्छ,’ अध्यक्ष खत्रीले भने, ‘यो पनि एक किसिमले सुचना लुकाउने काम हो । हरेक बजेटका बारेमा जानकारी राख्ने अधिकार हरेक नागरिकलाई हुन्छ ।’ 

 

लेसी तुवाचुङ नगरपालिकाका सूचना अधिकारी रबिकिरण आचार्यले ब्रेकडाउन गरिएको वजेटको विवरण वेवसाइटमा राख्न उचित भए पनि राख्ने चलन नभएको बताए । ‘नगरसभाले स्वीकृत गरेको निर्णयचैं वेवसाइटमा राख्ने गरिएको छ । व्रेकडाउन गरिएको वजेटको विवरण लेखाको सफ्टवेरमा हुन्छ,’ आचार्यले भने, ‘वेवसाइटमा राख्दा राम्रो हुने हो । तर राख्ने चलन छैन ।’