close

नमोबुद्धकाे नगर गौरव कालोपत्रे सडक उद्घाटन

नमोबुद्धकाे नगर गौरव कालोपत्रे सडक उद्घाटन

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुन्डे बजारमा निर्माण गरिएको कालोपत्रे सडक आयोजनाको बिहीबार उद्घाटन गरिएको छ ।नगरपालिकाले नगर गौरवको आयोजनाको रूपमा लिएको वडा नम्बर ७ स्थित भकुन्डे-लभनेपाल-दारिमटार हुँदै लामा जक्सन सडकको बिहीबार नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे ।

 

यो सडक बिपी राजमार्गबाट सुरु भएर बजारको भित्री भाग हुँदै पुनः बिपी राजमार्गसम्म जोडिएको छ । उक्त सडक खण्ड नगरपालिकाले निर्माण गर्न लागेको बाइपास रोडसँग पनि जोडिनेछ । ६ सय मिटर लामो उक्त सडक कालोपत्रेको काम रेग्मी निर्माण सेवाले गरेको हो ।


सडकको दुवैतर्फ पक्की ड्रेनसहित कालोपत्रे गरिएको छ । सडक निर्माणका लाग बागमती प्रदेश सरकारले समपुरक अनुदानअन्तर्गत १ करोड र नमोबुद्ध नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसमा ड्रेनसहित सडक निर्माण र कालोपत्रेका लागि १ करोड ४२ लाख ४७ हजार ६ सय २१ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

 

कुल बजेटको बाँकी बजेटबाट थप ड्रेन निर्माणका लागि सम्झौता गरिएको थियो । कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले भकुन्डे बजारलाई व्यवस्थित बनाउन यो सडकलाई प्राथमिकताका साथ निर्माण र कालोपत्रे गरिएको बताए । 


बजारका अन्य भित्री सडक कालोपत्रे गर्ने कामसमेत अघि बढिसकेको बताउँदै उनले यस पटकको नीति तथा कार्यक्रम र बजेटमा प्रत्येक वडामा कम्तीमा एउटा नगर गौरवका आयोजना सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिए ।


जनप्रतिनिधि निर्वाचित भएदेखि नै सडक निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको र सोहीअनुसार सबै वडाको केन्द्रसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिको काम गरिएको तिमल्सिनाले बताए । 


सडक उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर २ का वडाध्यक्ष सञ्जीव ढकाल, वडा नम्बर ६ का कुलप्रसाद न्यापाने, ७ नम्बर वडाका वडाध्यक्ष धर्मसिं लामा, ८ नम्बरका वडाध्यक्ष शेरबहादुर तामाङलगायत उपस्थित थिए ।