close

आशैआशमा बिते चार महिना : गुल्मीका झन्डै १८ हजार वृद्धवृद्धा दोस्रो खोपबाट वञ्चित

आशैआशमा बिते चार महिना : गुल्मीका झन्डै १८ हजार वृद्धवृद्धा दोस्रो खोपबाट वञ्चित

Trulli
ADVERTISEMENT

गुल्मी– कोरोना महामारीबाट बच्ने उपाय भनेकै अहिलेसम्म आफंै सुुरक्षित हुनु हो । पछिल्लो समय खोपले पनि यसमा भरथेग गरेको छ ।

 

कोभिड–१९ विरुद्धको खोप बनेपछि नागरिकमा केही आत्मबल थपिएको छ । नेपालले सबैलाई खोप दिने स्थिति नहुँदा वर्ग विभाजन गरेर खोप अभियान सञ्चालन भइरहेका छन् ।

 

६५ वर्षमाथिका ज्येष्ठ नागरिक सरकारको प्राथमिकतामा परेका छन् । सोहीअनुसार गुल्मीमा २०७७ फागुन तेस्रो साता खोप अभियान सञ्चालन गरियो । प्रत्येक स्थानीय तहमा कोभिसिल्डको पहिलो डोज लगाइयो । तर, चार महिना बिते खोपको अर्को डोज लगाउन पाएका छैनन् । 

 

जिल्लाका १७ हजार ९ सय १ जना ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । 

 

जिल्लामा कोभिडसिल्ड र भेरोसिल्ड गरेर २ थरी खोप अभियान सञ्चालन भएका छन् । भेरोसिल्ड लगाउनेले अर्को डोज पनि पाएका छन् । तर, कोभिसिल्ड दोस्रो डोज भारतबाट आउन बन्द भएका कारण वृद्धवृद्धासहित ठूलो संख्याका नागरिक पूरा खोप लगाउनबाट वञ्चित छन् ।

 

सामान्यतया पहिलो खोप लगाएको दुई महिनाभित्र दोस्रो खोप लगाउनुपर्छ । तर, चार महिनासम्म ज्येष्ठ नागरिक खोपबाट वञ्चित भएको सूचना अधिकारी आचार्यले बताए । पहिलो खोपको अबको अवस्था र अन्य उपायबारे कार्यालयले विशेषज्ञहरूसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

 

सरकारले ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको पहिलो खोप मात्रै लगाएर लामो समय वास्ता नगरेको इस्मा गाउँपालिका वडा नम्बर ४ की ७५ वर्षीया धनकला अधिकारीको गुनासो छ । 

 

‘सरकारले धोका दियो । जोखिम झनै बढायो,’ उनले भनिन्, ‘आशैआशमा चार महिना बिते । अब खोप पाउनु र लगाउनुको के अर्थ ?’

 

 गत फागुन तेस्रो साता ६५ वर्ष ज्येष्ठ नागरिकले मात्रै पहिलो खोप लगाएका थिएनन् । शव व्यवस्थापन गर्ने एम्बुलेन्स चालक ५ जना, महिला स्वास्थ्य स्वयसेविका ७४ जना, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी १ सय १६ जना, स्वास्थ्यकर्मी ५० जना, वृद्धाश्रमका वृद्धवृद्धा, कैदीबन्दी र फोहोर व्यवस्थापनकर्मीले कोभिसिल्डको दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय गुल्मीका सहजकर्ता सुजन ढकालले जानकारी दिए । 

 

पहिलो प्राथमिकतामा परेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकसहित ५ सय १ अरू विभिन्न क्षेत्रका गरेर १८ हजार ४ सय २ जनाले दोस्रो खोप लगाउन नपाएको ढकालले बताए । 

 

पहिलो खोप लगाएको लामो समय अर्को डोज नपाएपछि निकै अन्योल भएको पत्रकार महेश बोहराले बताए । ‘डाक्टरले पनि वास्तविक उत्तर दिन सक्दैनन् । पहिलो खोप कोभिसिल्ड लगाएँ । समयमै अर्काे पाइएन,’ उनले भने, ‘अझै कोभिसिल्डकै प्रतीक्षा गर्ने वा दुवै डोज भेरोसिल्ड लगाउने निकै गाह्रो बनायो ।’ 

 

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार जिल्लामा खोप लगाउने १ लाख ४७ हजार १ सय ५५ जना १८ वर्षमाथिका नागरिक छन् । अहिलेसम्म ४३ हजार ३ सय १८ जनाले खोप लगाएका छन् भने अझै १ लाख ३ हजार ८ सय ३७ जना खोप लगाउन बाँकी छन् ।