close

पोखराका किसानलाई अनुदानमा बोका

पोखराका किसानलाई अनुदानमा बोका

Trulli
ADVERTISEMENT

पोखरा- पर्यटकीय नगरी पोखराका अधिकांश भुभाग गाउँले जीवनशैलीको छ । अधिकांश नगरबासी अहिलेपनि किसानीमै व्यस्त छन् । खासगरी पशुपालन र तरकारी खेती यहाँको प्रमुख व्यवसाय हो । पोखरा महानगरले बाख्रापालक किसानलाई प्रोत्साहन स्वरुप अनुदान सहयोग गरेको छ । महानगरका १६ र २० नम्बर वडाका किसानलाई अनुदान वितरण गरिएको हो । पशु सेवा शाखाले लागत साझेदारीमा बाख्रा प्रर्वद्धन कार्यक्रम अघि सारेको छ ।

 
यही कार्यक्रम अन्तर्गत २ वडाका ५० किसानलाई २० हजारका दरले बाख्रा खरिदमा अनुदान वितरण वितरण गरेको हो । पोखराका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य र पोखरा २० का अध्यक्ष सिम गुरुङले बिहीबार अनुदान वितरण गरेका थिए । २ वडामा १/१ वटा ब्याडे बोका समेत दिइएको महानगर पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । 


उनका अनुसार एउटा बोकाको मूल्य १ लाख पर्छ । महागनरले कृषिलाई प्राथमिकता दिएर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको कार्यवाहक प्रमुख गुरुङले बताइन् । ‘आर्थिक समृद्धिको प्रमुख आधार कृषि र पशु हो । व्यापार व्यवसायतिर धेरै मान्छे लागेपनि हाम्रो दैनिकी किसानीबाट छुटेको छैन,’ उनले भनिन्, ‘महानगरले कृषि पेशा अंगाल्नेलाई सहयोग गरिरहन्छ ।’ उनले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणमा ध्यान दिने बताईन् । 

 

बाख्रापालक किसान दुर्गाबहादुर गुरुङले कृषि पेशामा धेरै चुनौति रहेको भन्दै त्यसको समाधानका लागि सरकार प्रतिबद्ध रहनुपर्ने बताए । अनुदानको प्रक्रिया झण्झटिलो रहेको र वास्तविक किसान भन्दा अरुले नै अनुदानका कार्यक्रमबाट लाभ पाएको उनको दुखेसो छ । ‘हामी उत्पादनका आधारमा अनुदान लागू गर्नुपर्नेमा अझै दवाव दिन्छौं । बास्तविक किसानले लाभ पाएकै छैन,’ उनले भने, ‘अनुदान त भनिएको छ । तर किसानी गरेरै राज्यलाई योगदान गरेकाहरु छुटिरहेका छन् ।’ गुरुङ पोखराको व्यवसायिक बाख्रापालक हुन् । पछिल्लो समय मौजा बाख्राको श्रोत केन्द्रका रुपमा विकास भइरहेको छ ।