close

वनमै गुर्जो फलाएर बेच्ने तयारीमा रुपा गाउँपालिका

वनमै गुर्जो फलाएर बेच्ने तयारीमा रुपा गाउँपालिका

Trulli
ADVERTISEMENT

कास्की- कोरोना समय सबैभन्दा धेरै प्रचार भयो, गुर्जोको । यसको महत्त्वबारे धेरैले बुझे । वनबाट गुर्जो टिपेर बेच्नेहरू त्यसबेला मालामाल पनि भए । कास्कीको रुपा गाउँपालिकाले अब गुर्जो उत्पादन गर्ने कार्यक्रम अघि सारेको छ । रुपाका सबै सामुदायिक वनमा गुर्जो रोप्ने कार्यक्रम प्रस्ताव गरिएको हो । यसका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 


पालिकाभरि ५२ वटा सामुदायिक वन छन् । सबैमा १ हजार बेर्ना रोपेर व्यावसायिक रूपमा गुर्जो उत्पादन गर्न लगाउने पालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘गुर्जोको महत्त्व आयुर्वेद क्षेत्रमा धेरै छ । हामीले त्यसको महत्त्व बुझेनौँ’, उनले भने, ‘वनमा उत्पादन हुने चीजलाई सामान्य हेरचाह गरे मात्रै आम्दानी गर्न सकिन्छ । पालिकाले त्यसैलाई हेरेको हो ।’

 

उपभोक्ता समितिलाई नर्सरी बनाउन लगाएर त्यहाँबाट उत्पादित बिरुवा वनमा लगाइने उनले बताए । गुर्जो सबै आयुर्वेद औषधीमा काम लाग्छ ।‘ सामुदायिक वन जनताको आयआर्जनमा योगदान’ नाराका साथ गुर्जो उत्पादनमा जोड दिइएको हो । त्यसबाहेक अरू जडीबुटी उत्पादन गर्ने र प्रशोधन गरी बजारमा पु¥याउने पालिकाको कार्यक्रम छ । 


यसबाट रोजगारी सिर्जना हुने र पालिकाको आम्दानीसमेत बढ्ने विश्वास छ ।  वनमा आधारित उद्याम सञ्चालन गर्ने, सिजनिङ मेसिन, दिगो वन व्यवस्थापनलगायत कार्यक्रम समेटिएका छन् । केही ठाउँमा लालीगुराँस संरक्षित क्षेत्र घोषणा गर्ने र मनोरम ठाउँको निर्माण गर्दै पर्यटक बोलाउने कार्यक्रम पनि छ ।


वन क्षेत्रको संरक्षण र विकासका लागि छुट्टै २ लाख रुपैयाँ विनियोजन गरिएको छ । रुपामा दुई वटा आयुर्वेद औषधालय छन् । हंसपुरमा ३१ लाख र देउरालीमा ३२ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यो बजेट तलब भत्तासहित आयुर्वेदिक क्षेत्रको कार्यक्रमका लागि दिइएको हो ।