close

झापामा लम्बियो निषेधाज्ञा, विभिन्न पालिका सिल

झापामा लम्बियो निषेधाज्ञा, विभिन्न पालिका सिल

Trulli
ADVERTISEMENT

झापा- झापामा १४ साउनसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डिसिसिएमसीको बैठकले ८ देखि १४ साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।


बैठकले बजार साँझ ७ बजेसम्म सञ्चालन गर्न दिने, लामो तथा छोटो दूरीका सवारी आवगमनमा रोक नलगाउने निर्णय गरेको छ । निषेधाज्ञालाई खुकुलो बनाइएको छ ।


निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमण दर भने बढ्दै गएको छ । 

 

शनिश्चरे बजार एक साताका लागि बन्द

अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नम्बर ८ को कार्यालयले कोरोना संक्रमण फैलिएपछि बजार एक साताका लागि बन्द गरेको जनाएको छ ।

 

८ साउन राती १२ बजेदेखि १५ साउनसम्म बजार बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिए ।  वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रूपमा बन्द गरिने जनाएको छ । 


बजार व्यवस्थापन समिति, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ, टोल विकास समितिसमेतको छलफलपछि नागरिकको जीवनरक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गौतमले बताए ।

 

बुद्धशान्ति गाउँपालिका सिल

समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिका सिल गरिएको छ । गाउँकार्यपालिका बैठकले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी गाउँपालिका सिल गरिएको पालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

 

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि पालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक साताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष भुजेलको भनाइ छ ।

 

शिवसताक्षीका पूर्वजनप्रतिनिधि सिंगुको निधन

शिवसताक्षी नगरपालिकाका पूर्वजनप्रतिनिधि इन्द्र सिंगुको कोरोना संक्रमणका कारण निधन भएको छ । शिवसताक्षी वडा नम्बर १० का ५७ वर्षीय सिंगुको शुक्रबार घरमै निधन भएको हो


संक्रमण पुष्टिपछि उनी होम आइसोलेसनमा थिए । गत ३१ असारमा एन्टिजेन टेस्ट गर्दा उनलाई संक्रमण पुष्टि भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए ।