close

कोरोनाकाे असर: स्कुल खुल्ने ठेगान छैन, किताब हातमा पुगेन 

कोरोनाकाे असर: स्कुल खुल्ने ठेगान छैन, किताब हातमा पुगेन 

Trulli
ADVERTISEMENT

जुम्ला- कोरोना महामारीको चपेटामा जुम्ला पनि लपेटियो । कोरोना महामारीले सबैभन्दा बढी शिक्षा क्षेत्र तहसनहस भएको छ । सुगमकाले अनलाइन कक्षा लिन पाए पनि दुर्गमका विद्यार्थी यो सुविधाबाट वञ्चित छन् । कर्णालीमा त यसको असर झनै परेको छ ।


११ चैत २०७६ देखि यहाँका शैक्षिक संस्थाका ढोका बन्दका बन्दै छन् । नियमित स्कुल गएर पठनपाठन गर्नुपर्नेे बालबालिका अहिले धुलो माटोमा लपेटिनुका साथै घरायसी काममै छन् । लामो समयदेखि कोरोना महामारीले शिक्षा क्षेत्र अन्योल बन्दै गएपछि अब घरमै भए बालबालिकाको पाठनपाठनको वातावरण सिर्जना गर्नुपर्ने गुनासो बढेको छ ।


जुम्लाको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन निर्देशन गरेको छ । यहाँका विद्यालय र स्थानीय तहलाई विद्यार्थीको हातमा पुस्तक पुर्‍याएर घरमै भए पनि पठनपाठनको वातावरण सिर्जना गर्न निर्देशात्मक अनुरोध गरेको हो । 


जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंका अनुसार सरोकारवाला निकायबाट गुनासो आएपछि कम्तीमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन आवश्यक देखिएको छ । उनले भने, ‘बन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक पुर्‍याउने निर्णय गरेका छौँ ।’ 


कोरोनाले विद्यालय बन्द भएपछि विद्यालय जाने वातावरण नभए पनि घरमै पुस्तक पुर्‍याउन कोभिड संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । जुम्लामा फागुन पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्र प्रभावित हुनुका साथै साउन पहिलो सातासम्म पनि विद्यार्थीको हातमा किताब पुग्न सकेको छैन । 


जिल्लाको जिपी स्टेसनरी एन्ड सप्लायर्सले यो वर्ष २५ लाख रुपैयाँका पुस्तक भित्र्याएको बताएको छ । पुस्तक बिक्री नहुने डरले अन्य लगानी गर्न नसकिएको प्रबन्धक गणेश रोकायाले जानकारी दिए । उनका अनुसार कोभिडभित्रै ल्याइका पुस्तक बिक्री भएका छैनन् । यसले गर्दा अधिकांश सामुदायिक विद्यालयका विद्यार्थी पुस्तक पाउनबाट वञ्चित भएका छन् ।


जिल्लाभर बर्सेनि १ करोड ५० लाख रुपैयाँका पुस्तक आवश्यक भए पनि कोरोनाका कारण विद्यालय नखुलेर बिक्री भएका छैनन् । सन्ध्या स्टेसनरीले जिल्ला भित्र्याएको १८ लाख रुपैयाँको पुस्तक बिक्री नभएर स्टक भएको छ । स्टेसनरीका प्रबन्धक सुमन खड्काका अनुसार २ लाख रुपैयाँ बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाइ भएको छ । 


जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम निकासा भइसकेको जिल्ला शिक्षा समन्वय समितिले जानकारी दिएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका ८ वटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिइसकेको हँुदा अब चाँडै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउनुपर्नेछ ।


गाउँका विद्यार्थीलाई न टेलिभिजन कक्षामा सहभागी हुने अवसर छ, न त अनलाइन कक्षा नै लिन पाएका छन् । जुम्लाका  १७० विद्यालयका करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।