close

बदेल धपाउन बारीमै बास

बदेल धपाउन बारीमै बास

Trulli
ADVERTISEMENT

दैलेख- बारीमा लगाइएको बाली बँदेलले नष्ट गर्न थालेपछि दैलेखका किसानलाई भोकमरीमा परिने चिन्ताले सताएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० मा बँदेलले मकै बाली नष्ट गर्न थालेपछि किसान भोकमरी निम्तिने त्रासमा छन् । 


बँदलले रातीमा मकैबाली नष्ट गर्न थालेपछि किसान रातभर बारीमै जाग्राम बस्न बाध्य छन् । बँदेलले मकै नष्ट गर्न थालेपछि रातको समयमा पनि बारीमै जाग्रा बस्न थालेको दुल्लु नगरपालिका वडा नम्बर १० का महेश खड्काले बताए । 

 

उनका अनुसार वडा नम्बर १० अन्तर्गत साविकको ३ नम्बर वडादेखि ९ नम्बर वडासम्म बँदेलले मकै नष्ट गरिरहेको छ । बारी नजिकै सामुदायिक वन रहेका कारण पनि जंगली जनावरको बिगबिगी भएको हो । 


यो स्थानमा गत वर्ष पनि बँदेलले आतंक मच्याएको थियो । ‘पहिलेजस्तै यो वर्ष पनि राती बँदेल धपाउने क्रममा मान्छेलाई नै आक्रमण गरेर मलाई घाइते बनायो’, स्थानीय निरक खत्रीले भने ।


घरेलु उपचारबाट सन्चो नभएपछि नेपालगन्ज पुगेर साढे २ लाख रुपैयाँ खर्चिएर उपचार गरेपछि बल्ल घर फर्केको पञ्चकोशी ज्वाला हाइस्कुलका शिक्षकसमेत रहेका खड्का सुनाउँछन् । 


बँदेलले गोरु, बाख्रा र कहिले मान्छेलाई नै आक्रमण गर्दै आएको छ । यो वर्ष बँदेलले वर्षभरको खेती स्याहार्ने बेला उत्पात मच्याएको उनले बताए ।


‘पोहोर साल मकै भित्र्याउन पाइएन । अहिले पनि उस्तै गरायो । भएको खेती सबै जंगली जनावरलाई भयो । अलि–अलि भएको जोगाउन रातभर बारीमै जाग्राम बस्न थालेको स्थानीय महेन्द्र खड्काले गुनासो गरे ।


बँदेलले अहिले करिब ५० प्रतिशतमा लगाइएको अन्नबाली सकिसकेको छ । करिब ९० हेक्टर क्षेत्रफलमा लगाएको मकै बँदेलले सखाप गर्दा बारी नै खाली देखिन थालेको खड्काको भनाइ छ । बँदेलले मकै, आलु, बदाम, भटमास सबै नष्ट पारेको छ ।  


किसानले बँदेलबाट अन्नबाली जोगाउन रातभर बारीमा पाल हालेर रुखमा काठ राखेर बारीमै सुत्ने गरेको वडा नम्बर १० का वडाध्यक्ष हर्कबहादुर खड्काले बताए । 


नगरपालिकासँग पनि कुनै कार्यक्रम नभएकाले तत्काललाई केही गर्न नसक्ने अवस्था रहेको दुल्लु नगरपालिका नगरप्रमुख घनश्याम भण्डारी बताउँछन् । ‘बँदेलले बाली नष्ट गरेको ठाउँमा गएर मुचुल्का उठाएर प्रदेशमा पठाएका छौँ’, उनले भने ।