close

सहाराविहीनको टेको बन्दै साझाघर

सहाराविहीनको टेको बन्दै साझाघर

Trulli
ADVERTISEMENT

दैलेख- दैलेखको तल्लो डुंगेश्वरकी भगवती वादी आमाबुबालाई चिन्ने भएकी थिइनन् । सानैमा बुबा गुमाइन् । आमाबुबा दुवैको अनुहारसमेत देख्न पाइनन् । बुबाको मृत्युपछि आमा अर्कैतिर पोइला हिँडिन् । सहारा दिने आमा पनि पोइला हिँडेपछि उनको आफ्नो कोही भएनन् । 


दैलेखको डुंगेश्वर बजारमा दिनरात सडकमा मागेरै पेटको आगो बुझाउँथिन् । तल्लो-माथ्लो घरका दिदीभिनाले साझाघर सञ्चालनमा आएको सुनेर त्यहाँ खबर गर्दा उसले उद्दार ग‌र्‍यो । साझा घरले उद्दार गरेपछि अहिले खान, बस्न र शिक्षासमेत पाएकी छन् । राम्रो लगाउन र आमाबुुबाको माया साझाघरले दिएको छ ।


‘पहिले आमाबा कस्ता थिए, राम्रोसँग देख्नै पाइनँ । अहिले साझाघर पुगेपछि आमाबुबाले भन्दा धेरै माया पाएकी छु’, उनले भनिन् । कालीकोटका मीनबहादुर नेपाली ७ वर्षका भए । आमाबुबाको राम्रोसँग माया नपाउँदै आमाको निधन भयो । बुबा कालापहाडबाट कहिल्यै घर नफर्किने गरेर उतै हराए । 


गाउँमा उनको विचल्ली भयो । केही दिन आफन्तले राखे पनि पछि घरबाटै निकालिएपछि कर्णाली राजमार्ग छेउमा मागेर गुजारा चलाउने गरेका थिए । साझाघरले उद्दार गरेपछि उनका दिन सहजै रूपमै बितिरहेका छन् ।


सुर्खेतका अशीष मूल ११ वर्षका भए । शारीरिक र मानसिक रूपमा अपांगता छन् । उनको पनि आमाबुबाकै मृत्युपछि आफन्तले साझाघरको जिम्मा लगाए । सडकमा रहेका बेसहाराको आश्रमको व्यवस्था गर्दै आएको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ भैरवस्थानमा रहेको साझाघर सहारा बनेको छ ।


आमाबुबा कोही नभएर सडकमा छाडिएका बेसहारा बालबालिका तथा मानसिक सन्तुलन गुमाएकालाई साझाघर नेपालले सहारा दिँदै आएको छ । पहिले वीरेन्द्रनगर वडा नम्बर ९ लाटीकोइलीबाट सेवा दिँदै आएको थियो । सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका र बेसहारालाई उचित वासस्थान र पछि परिवारसम्म मिलन गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको साझाघरका अध्यक्ष भीम विश्वकर्मा बताउँछन् । 


उनका अनुसार साझाघरले अहिले २७ बालिका र ४२ बालक गरी ६९ जना बालिकालाई आश्रय दिँदै गास, बास र कपासको व्यवस्था गरेर अभिभावकको भूमिका वहन गर्दै आएको छ ।  एक छाकबाट एक मुठी दान साझाघर नेपालको अभियान उद्देश्यबाट सञ्चालित साझा घरमा ३ जना स्वयंसेवीले हाल काम गरिरहेका छन् । 


सडकमा रहेका बेसहारालाई घरसम्म पु¥याउने र आमाबुबा नभएका बालबालिकालाई साझाघरमा राखेर गास, बास, शिक्षादीक्षाको व्यवस्था गर्ने उद्देश्यसहित २० चैत २०७५ मा १५ साझाघरको स्थापना भएको स्वयंसेवी तपेन्द्र विक सुनाउँछन् ।


‘हामीले सहयोग जुटाएरै बेसहारालाई खाने–बस्नेको व्यवस्था गरेका छौँ’, उनले भने, ‘सुरुमा सञ्चालन गर्दा ३२ जना बेसहारा बालबालिका, मानसिक सन्तुलन गुमाएका र फरक क्षमता भएका व्यक्ति राखिए पनि अहिले आश्रममा २७ बालिका र ४२ बालक गरी ६९ जनाको अभिभावकत्व निर्वाह गरेका छौँ । अहिलेसम्म ९ जनालाई घरपरिवारसँग मिलन गराइसकेका छौँ’, विकले भने ।

 

खान-बस्न समस्या

साझाघर नेपाल सञ्चालनमा आएपछि सुरुआती दिनमा निकै अप्ठेरो थियो । सडकमा रहेका बेसहारा बालबालिका तथा मानसिक सन्तुलन गुमाएकालाई राख्दा पहिले अप्ठेरो भए पनि सहयोगी हात जुट्दा समस्या टरेको छ । 


‘कुनै तहबाट ठूलो सहयोग छैन । कुनै सहयोगी मनले जन्मदिनको उपहारमा खाद्यान्न, लत्ताकपडालगायत सामान दिन्छन्,’ उनले भने, ‘घर भाडामा लिएका छौँ । महिनाको ८० हजार भाडा तिर्छौं ।’