close

जुम्लाका ९ हजार जेष्ठ नागरिक दोस्रो खोपबाट वञ्चित

जुम्लाका ९ हजार जेष्ठ नागरिक दोस्रो खोपबाट वञ्चित

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा २०७६ चैत पहिलोसातादेखि कोरोना माहामारी फैलियो । पहिलो लहरको कोरोना संक्रमणबाट जुम्लामा खासै प्रभाव नपरेपनि दोस्रो लहरले नागरिकको ज्यान नै लियो । 


दोस्रो लहरको संक्रमण फैलिएदेखि ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । 


संक्रमणका कारण ८ जनाले मृत्यु भएका मध्ये ६ जना जेष्ठ नागरिक छन् ।  कोभिड–१९ विरुद्धको खोप बनेपछि नागरिकमा केही आत्मबल बढेर आयो । नेपालले सबैलाई खोप दिने स्थिति नहुँदा वर्ग विभाजन गरेर खोप अभियान सञ्चालन भइरहेका छन् ।


६५ वर्षमाथिका ज्येष्ठ नागरिक सरकारको प्राथमिकतामा परेका छन् । सोहीअनुसार जुम्लामा गत १४ माघेदेखि खोप अभियान सञ्चालन गरिएको थियो । प्रत्येक स्थानीय तहमा कोभिसिल्डको पहिलो डोज दिइएपनि ६ महिना बितिसक्दा पनि खोपको दोस्रो डोज लगाउन पाएका छैनन् । 

 

जिल्लाका ८ हजार ९ सय ५८ जना ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले बताए ।  

 

जिल्लामा कोभिडसिल्ड र भेरोसिल्ड गरेर २ थरी खोप अभियान सञ्चालन भएका छन् । भेरोसिल लगाउनेले अर्को डोज पनि पाएका छन् । तर, कोभिडसिल्ड दोस्रो डोज भारतबाट आउन बन्द भएका कारण वृद्धवृद्धासहित ठूलो संख्याका नागरिक पूरा खोप लगाउनबाट वञ्चित भएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्र महतले बताए ।

 

सामान्यतया पहिलो खोप लगाएको दुई महिनाभित्र दोस्रो खोप लगाउनुपर्छ । तर, ६ महिनासम्म ज्येष्ठ नागरिक खोपबाट वञ्चित भएको जनस्वास्थ्य निरीक्षक महतले बताए । 


जिल्लामा कोभिडसिल्ड पहिलो डोजको खोप लगाउने ८ हजार ९५८ जना जेष्ठ नागरिक छन् भने यसको दोस्रो डोज खोप २ हजार ९४८ जना स्वास्थ्यकर्मी, चालक कर्मचारीले लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक छ । 

 

भेरोसिल पहिलो डोजको खोप १ हजार ९९१ जनाले लगाएका छन् भने यसको दोस्रो डोजको खोप १ हजार ६१६ जनाले लगाएका छन् । भेरोसिल्डको दोस्रो जोडको खोप अभियान जारी नै रहेकोले पहिलो डोज लगाएका सवै जनाले दोस्रो डोजको खोप पाउने जनाएको छ ।  

 

जुम्लामा कोभिड–१९ संक्रमण पुष्टि हुनेको संख्या एक हजार १७६ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँका अनुसार ८ साउनसम्म संक्रमण मुक्त हुनेको संख्या ९५१ जना छ । 

 

अहिले पनि जुम्लामा २२५ जना सक्रिय संक्रमित रहेको उनले बताए । संक्रमणका कारण जिल्लाका ६ जना जेष्ठ नागरिकसहित ८ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

 

यस्तै बाहिर जिल्लाका जुम्ला अस्पतालमा ४ जनाको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसन कक्षमा २७ जना उपचार गराइरहेका छन् ।