close

बाढी तथा डुबानपीडितलाई घरदैलोमा राहत 

बाढी तथा डुबानपीडितलाई घरदैलोमा राहत 

Trulli
ADVERTISEMENT

रूपन्देही- देवदह नगरपालिकाले गत ९ असोज राती आएको बाढी तथा डुबानबाट पीडित परिवारलाई घरमै गएर १० हजार रुपैयाँ नगद र खाद्यान्न वितरण गरेको छ ।


स्थलगत अवलोकनपछि वातावरण तथा विपद् व्यवस्थापन समितिले तयार गरेको राहत वितरण मापदण्डलाई आधार मानेर राहत वितरण गरिएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताए ।


उनले भने, ‘हामीले नगरपालिकाको विपद् व्यवस्थापन समितिबाटै पहिले निर्णय गरेर बाढी तथा डुबानबाट पीडित परिवारलाई घरमै पुगेर १० हजार र खाद्यान्न वितरण गरेका हौँ । अन्य राहतको अवस्थामा भने जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसको आधारमा नगरपालिकाको मापदण्डअनुसार वितरण गर्छ ।’


नगरपालिकाले उपलब्ध गराउन नसक्ने राहत जिल्ला प्रशासनको सिफारिसको आधारमा संघीय र प्रदेश सरकारसँग आग्रह गरिने नगरप्रमुख केसीले बताए ।


९ असोजमा आएको वर्षाले बाढी तथा डुबानबाट ८, ९, १०, ११, १२, १३ लगायतका वडा सबैभन्दा बढी प्रभावित भएका छन् ।

 

नगरप्रमुख केसीले भने, ‘लगातार तीन दिनसम्म आएको बाढीले सयौँ कुखुरा फार्म, भैँसीगोठ, सयौँ बिघा धान खेती बगरमा परिणत भएको छ । उद्योगहरूमा क्षति भएको छ । हामीले प्रभावितलाई बीमा गर्न आग्रह गरेका छौँ ।’


नदी कटान नियन्त्रण, व्यवस्थापन र अल्प तथा दीर्घकालीन रूपमा समस्या समाधानका लागि नगरपालिकाले प्रदेश तथा संघीय सरकारसँग माग गर्ने केसी बताउँछन् ।


यस वर्षको बजेटमा नदी नियन्त्रण तथा विपद् व्यवस्थापनबारे संघीय र प्रदेश सरकारसँग देवदहको योजना अवगत गराउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिए ।


देवदह नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङले ९ असोजको बाढीबाट प्रभावितलाई सहयोग पुर्‍याउन मध्यरातमै सिंगो नगरपालिकाको संयन्त्र परिचालित भएको बताइन् ।