close

दूध उत्पादन बढाउन वालिङले बाँड्यो भैंसी 

दूध उत्पादन बढाउन वालिङले बाँड्यो भैंसी 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले नगरका किसानलाई भैंसी वितरण गरेको छ । नगरभित्रका वडा नम्बर ९, १३ र १४ का ३३ किसानलाई व्यावसायिक दूध उत्पादन प्रवर्द्धन गर्न नगरपालिकाले लागत साझेदारीमा भैंसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।


कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिब ५३ लाख रुपैयाँ लागेको हो ।


भैंसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वटा वडा छनोट गरी माउ भैंसी वितरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।


परम्परागत रूपमा भैंसीपालन गर्दै आएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको उनको भनाइ छ ।


‘परम्परागत भैंसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिक स्तर सुधार्न यो कार्यक्रमले सहयोग पुर्‍याउनेछ,’ उनले भने, ‘पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप उत्प्रेरणा थपिनेछ ।’


नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैंसी खरिद गरेको नगरपालिकाको पशु शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले जानकारी दिए ।


हाल तीन वटा वडामा सञ्चालन भएको भैंसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई वटा र केहीले एउटाका दरले भैंसी खरिद गरेको डा. अधिकारीले बताए ।


‘कृषकको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छौँ’, डा. अधिकारीले भने, ‘यसका अलावा समयानुसार तालिम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरण सहयोग गरिएको छ ।’