close

धौलीगाड खानेपानी आयोजनाले जगायो आस (भिडियो खबर)

धौलीगाड खानेपानी आयोजनाले जगायो आस (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- आर्थिक वर्ष २०६६/६७ मा जुम्लाको बृहत् धौलीगाड खानेपानी आयोजना निर्माणको थालनी भयो । झण्डै १२ वर्ष अघि निर्माण थालिएको आयोजना लामो समयसम्म अलपत्र रह्यो । सरोकारवाला निकायको निरन्तरको प्रयास र लाभान्वित वर्गको तीव्र चासोका कारण आर्थिक वर्ष ०७७/०७८ देखि पुनः आयोजना ब्युँताइएको छ ।

 

ठेक्का सम्झौता भएको मितिले ३ वर्षमा आयोजना निर्माण सम्पन्न हुनेछ । चौथो वर्ष आयोजना परीक्षण हुने र चौथो बर्षको अन्त्यतिर स्थानीय सरकारको स्वामित्वमा रहने डिपिआरमा उल्लेख छ । नेपालको हिमाली क्षेत्रकै गौरव र ठुलो आयोजना भएकाले जुम्लाका विभिन्न स्थानीय तहका नागरिक यो आयोजनाबाट लाभान्वित हुनेछन् । 


तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जुम्लाले आर्थिक वर्ष ०६६/६७ देखि धौलीगाड खानेपानी योजना सुरु गरेको थियो । हरेक वर्ष आयोजनाका लागि बजेट आए पनि खर्च नभएर फ्रिज हुने गरेको थियो । तत्कालीन खानेपानीमन्त्री प्रेमबहादुर सिंह धौलीगाड खानेपानी आयोजनाका विषयमा जुम्लामै आएर छलफल गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म यो बन्न सकेको छैन ।

 

आयोजना सुरु भएको तीन वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्थापन गर्ने जुम्ली जनतालाई आश्वासन दिएका थिए ।  तर, काम अघि बढ्न सकेको थिएन । तर, अब भने आयोजनालाई ब्युँताइएको छ ।  कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पहिलो संविधानसभा २०६४ मा सभासद् हुँदा उक्त खानेपानी आयोजनाका लागि तत्कालीन सरकारसँग पहल गरी सुरु गरेका थिए ।

 

अहिले पनि उनकै पहलमा निर्माण सुरु गर्ने तयारी छ ।  यस आयोजनामा लाभान्वित गाउँ तथा नगरपालिकाले १ प्रतिशत रकम जम्मा गर्नुपर्ने र ९ प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था अनुसार १ करोड ४७ लाख रुपैयाँ लाभान्वित गाउँ तथा नगरपालिकाले रकम जम्मा गरेसँगै आयोजना टेन्डरमा गएकाे छ । आयोजनाबाट चन्दननाथ भित्रका ८ वडा, तातोपानीका ६ वडा र गुठीचौर गाउँपालिकाभित्रका ३ वडाका नागरिक लाभान्वित हुनेछन् ।

 

धौलीगाड बृहत् खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) १ अर्ब ४७ करोड रुपैयाँको बनेको छ । जनप्रतिनिधि, सरकार र सरोकारवाला निकायको सहयोगले आयोजना टेन्डरमा जान सफल भएको हो । यो आयोजना नेपालको हिमाली क्षेत्रकै गौरव र ठुलो आयोजना हो । जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजनासँग जोडिएकाले अब पनि यसलाई आलटाल गर्नु हुँदैन । समयमा नै सम्पन्न गर्ने गरी अघि बढ्नुपर्ने देखिन्छ ।