close

सम्झाैताकाे म्याद नाघेको दुई वर्षमा बल्ल १३ प्रतिशत काम

सम्झाैताकाे म्याद नाघेको दुई वर्षमा बल्ल १३ प्रतिशत काम

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणमा ढिलासुस्ती देखिएको छ ।

 

२९ असार २०७६ भित्र सम्पन्न गर्ने गरी ३० असार २०७३ मा सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर २ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने जोड्ने सुनकोसी पुल निर्माणमा निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीको ढिलासुस्ती देखिएको हो । 


सम्झौता म्याद नाघेको दुई वर्ष नाघ्दा पुलको करिब १३ प्रतिशत काम पूरा भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का साइड इन्जिनियर रवि साहले बताए ।


कोभिड–१९ महामारी एवं नवौं संशोधनअनुसार मन्त्रिपरिषद्बाट ६ महिना थप भएको म्याद पनि गत असारमा सकिएको छ । २०० मिटर लम्बाइको पुलको ठेक्का लिनेमध्ये पप्पु कन्स्ट्रक्सन सरकारले कालोसूचीमा राखेको कम्पनी हो । 


म्याद नाघेको वर्षौं बित्दा हालसम्म नदीको दुई किनारामा ओपन फाउन्डेसन तथा त्यस माथि सब–स्ट्रक्चरको क्यापको काम सम्पन्न भएको साहले बताए । निर्माण स्थलमा अवलोकन गर्दा उदयपुरतर्फ नदीबीचमा गोलो पिलर उठाउने काम भइरहेको देखिएको छ ।


‘हालसम्म धाप्लाङघाट पुल निर्माणको काम १३ प्रतिशत मात्र सकिएको छ,’ साइड इन्जिनियर साहले भने, ‘अहिले पुलको राइटब्यांक (उदयपुरतर्फ) को वेल फाउन्डेसनको सिंकिङ अपरेसनको काम भइरहेको छ ।’
 
खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा, खोटेहाङ र भोजपुरका केही स्थानीयलाई पूर्वी सहरसँग जोड्ने पुल ३१ भदौ २०७४ मा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।


तराईसँग जोड्ने छोटो र सीधा बाटोमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय आक्रोशित छन् । म्याद गुज्रिँदासम्म पुलको पिलर ठड्याउने कामसमेत पूरा नहुँदा सर्वसाधारण मारमा परेको बराहपोखरी गाउँपालिका वडा नम्बर ४ फाक्टाङका स्थानीय गणेश कोइरालाले बताए ।

 

धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौं अघि कच्ची सडक बने पनि हालसम्म पुल नहुँदा झोलुंगे प्रयोग हुँदै आएको छ । धाप्लाङघाट पुल निर्माणमा भइरहेको ढिलासुस्तीमा संघीय सांसद विशाल भट्टराई, हिरा गुरुङ, प्रदेश सांसद रामकुमार राई, राजन राईदेखि प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राई बेखबर देखिएका छन् । 


निरन्तर दबाब सिर्जना गर्न सकेको भए पुल निर्माण अलपत्र अवस्थामा नपुग्ने स्थानीयको भनाइ छ । भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजार रुपैयाँको लागतमा पूरा गर्ने गरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको हो ।


एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको प्रगति पनि उस्तै निरासाजनक छ । पुलको अलपत्र कामलाई गति दिन निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । 

 

पुल शिलान्यास कार्यक्रममा ठेकेदार कम्पनीका प्रतिनिधि जयराम लामिछानेले पुल निर्माण दुई वर्षभन्दा एक दिन पनि कटाउँदिनँ भनेर भाषण गर्दा स्थानीयले ताली पिटेका थिए ।