close

कर्णाली नदी आसपासका बस्ती बाढीपहिरोको उच्च जोखिममा 

कर्णाली नदी आसपासका बस्ती बाढीपहिरोको उच्च जोखिममा 

Trulli
ADVERTISEMENT

कालिकाेट– कालीकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने जितेबजार र लालीघाट बाढीपहिरोको उच्च जोखिममा छन् ।


जिते बजारजस्तै कर्णाली नदी आसपासका सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । 


कणाली राजमार्ग र कर्णाली करिडोर आसपासका यी स्थान राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढीपहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट बताउँछन् । 


विकासको गतिसँगै बनेका बस्ती उच्च जोखिममा छन् । ‘कर्णाली नदी, तिला नदी किनारको मुखैमा रहेको जिते बजार र लालीघाट बजार बाढीपहिरोको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्ने प्रयास गर्दा पनि उनीहरूले मानेनन्’, अध्यक्ष विष्टले भने ।

 

२०७३ मा बाढीपहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो । तर, उच्च जोखिममा रहेका नागरिकले बस्ती सार्न आनाकानी गर्दै आएका छन् ।


कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारबासी वर्षाैंदेखि बसिरहेका र कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदी छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको शुभकालिका वडा नम्बर १ जिते बजारका स्थानीय व्यापारी छत्र बडुवाल सुनाउँछन् । 


जिते बजार र नदी किनारको दूरी पहिले १५/२० मिटर थियो तर नदीमा आइतबार रातीदेखि परेको पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ । ‘यही गतिमा नदीमा पानीको बहाव बढ्दै गए कुन बेला बजार बाढीले बगाउँछ थाहा छैन’, उनले भने, ‘यो ठाउँमा अलि–अलि कमाइ हुने भएकाले ठाउँ छाड्न मन मान्दैन ।’


कालीकोटको पचालझरना गाउँपालिकाको भुराबगर बजार पनि बाढीपहिरोको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।‘बस्तीका नागरिकलाई अन्यन्त्र जान कयौँ पटक भनिसक्याैँ तर कसैले मान्दैनन्’, उनले भने, ‘बजार नै बनाएर बसेको कारणले उनीहरूले नमानेका हुन् । भोलि ठूलो जोखिम निम्तिन सक्छ ।’


पहिरोको उच्च जोखिम रहेका बस्ती तथा बजार अन्यन्त्र सार्न बारम्बार माइकिङमार्फत आग्रह गरिरहँदा पनि स्थानीयले अटेर गरेको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 


‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाखदेखि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा बस्ती नै सार्न आग्रह गरेका छ’, उनले भने, ‘अटेरी गरेर बसेको ठाउँमा अहिले पनि जोखिमबारे जानकारी दिएर सचेत गराइरहेको छौँ ।’


कालीकोटमा गत वर्षमा बाढीपहिरोमा परी ५३ जनाले ज्यान गुमाएका थिए भने करोडौँको धनमाल नष्ट भएको थियो । १ हजार घरपरिवार विस्थापित भएका थिए ।