close

तनहुँमा ८ अर्ब ४३ करोड राजस्व संकलन

तनहुँमा ८ अर्ब ४३ करोड राजस्व संकलन

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँमा रहेका संघ र प्रदेश मातहतका कार्यालयले १ वर्षको अवधिमा ८ अर्ब ४३ करोड ६३ लाख ५९ हजार ७ सय ६३ रुपैयाँ राजस्व संकलन गरेका छन् । 

संघ र प्रदेश मातहतका ४४ कार्यालयले उक्त रकम संकलन गरेका हुन् । गत आर्थिक वर्ष २०७७/७८ मा संघ मातहतका २८ कार्यालयले ८ अर्ब २६ करोड १५ लाख ६७ हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिए । 


प्रमुख श्रेष्ठका अनुसार सबैभन्दा धेरै राजस्व ७ अर्ब ८३ करोड ५४ लाख १३ हजार ७ सय २४ रुपैयाँ आन्तरिक राजस्व कार्यालयले संकलन गरेको छ । सबैभन्दा कम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ तरकारीले ८ सय रुपैयाँ मात्र संकलन गरेको हो ।


कोष तथा लेखा नियन्त्रण कार्यालयले २७ करोड ४८ लाख ११ हजार २ सय ७७ रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालयले २ करोड ६४ लाख ७७ हजार ३ सय ४१, जिल्ला प्रहरीले १ करोड ३८ लाख ५ हजार ७३, मालपोतले ६ करोड ६९ लाख १६ हजार ३९, सडक डिभिजनले १ करोड २२ लाख ४२ हजार ७ सय ३० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख कोष नियन्त्रक श्रेष्ठले बताए ।


प्रदेश सरकार मातहतमा रहेका १६ कार्यालयले १७ करोड ४७ लाख ९२ हजार १ सय २२ रुपैयाँ राजस्व संकलन गरेको श्रेष्ठले जानकारी दिए । कार्यालयमा उपलब्ध तथ्यांकअनुसार प्रदेश मातहतमा धेरै राजस्व आम्दानी गर्नेमा पूर्वाधार विकास कार्यालय रहेको छ । पूर्वाधार विकास कार्यालयले १० करोड ४७ लाख ९७ हजार १ सय ९९ रुपैयाँ राजस्व आम्दानी गर्न सफल भएको छ ।


कम राजस्व स्वास्थ्य कार्यालय तनहुँले संकलन गरेको छ । कार्यालयले १३ हजार २ सय ७८ रुपैयाँ मात्रै राजस्व उठाएको छ ।

 

प्रदेश लेखा इकाइले २ करोड ३७ लाख ९२ हजार १ सय ९७, घरेलु तथा साना उद्योग विकास समितिले १ करोड १३ लाख ९४ हजार १ सय २५, यातायात व्यवस्था सेवा कार्यालयले १ करोड ९९ लाख ७४ हजार ४ सय ४४, डिभिजन वन कार्यालयले ४२ लाख ६३ हजार ९ सय ५५ र भू तथा जलाधार व्यवस्थापन कार्यालयले ४७ लाख २८ हजार ४ सय ७० रुपैयाँ राजस्व आम्दानी गर्न सफल भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।