close

कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि झापाका पालिका धमाधम सिल

कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि झापाका पालिका धमाधम सिल

Trulli
ADVERTISEMENT

झापा- कोरोना संक्रमणको दैनिकजसो बढेपछि झापाका पालिकाले नागरिकको ज्यान जोगाउन धमाधम सिल गर्न थालेका छन् । जिल्लामा दैनिकजसो संक्रमण दर बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन बढी संक्रमित भएका पालिकाहरू सिल गर्न थालिएको हो ।

 

शिवसताक्षीमा सोमबार रातीदेखि निषेधाज्ञा 

कोराना जोखिम नियन्त्रणका लागि झापाको शिवसताक्षी नगरमा सोमबार रातिदेखि लकडाउन गरिने भएको छ । आइतबार नगरप्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आउजाउमा पूर्ण रोक लगाउने गरी ‘लकडाउन’ गर्ने निर्णय भएको हो ।

 

११ देखि १८ साउनसम्म राजमार्गबाहेकका सबै सडकमा आउजाउ रोक्ने निर्णय गरिएको नगरप्रमुख शेर्माले बताए । नगरस्तरीय कोरोना रोकथाम तथा समन्वय समितिले गरेको निर्णय जिल्ला प्रशासन कार्यालय झापामा सिफारिस हुने र निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले लागू गर्नेछन् । 

 

नगर तथा वडा कार्यालयका अत्यावश्यक कामबाहेक सबै बन्द हुनेछन् । नगरप्रमुख शेर्माले सात दिनका लागि निर्माण आयोजना पनि बन्द गर्ने निर्णय भएको बताए ।

 

औषधी पसलबाहेक सबै पसल, व्यवसाय अर्को सूचना नआउँदासम्म पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । पेट्रोलपम्प २४सै घन्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफूल पसल, विद्यालय बन्द हुनेछन् ।


निषेधाज्ञा अवधिभर दूध डेरी, सागसब्जी पसलसमेत बन्द हुनेछन् । निर्माणका काम पनि रोकिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । निषेधाज्ञाको अटेर गर्ने व्यक्ति वा फर्मलाई कानुनअनुसार कारवाही गर्ने निर्णय भएको छ । 

 

नगरमा १४४ सक्रिय संक्रमित छन् । कोरोनाको दोस्रो लहरमा १४ जनाको मृत्यु भएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।


बिर्तामोड नगरपालिका १३ साउनदेखि सिल 

बिर्तामोड नगरपालिका १३ साउनदेखि सिल हुने भएको छ । कोरोना संक्रमितको संख्या दैनिक ५० बढी थपिन थालेपछि नगरपालिकामा आइतबार बसेको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको बैठकले २० साउनसम्म सिल गर्ने निर्णय गरेको हो ।

 

बैठकले १३ साउनभित्र अति आवश्यक वस्तु व्यवस्थापन गर्न अनुरोध गरेको छ । समितिले गरेका अन्य निर्णयमा नगरपालिका तथा सबै वडा कार्यालबाट प्रवाह गरिने सेवामा अति आवश्यकबाहेक सबै बन्द गरिनेछ ।

 

कोभिड-१९ रोकथाम र उपचारका लागि निजी स्वास्थ्य संस्थासँग समन्वय गरी प्रभावकारी बनाउने, कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, स्थानीय प्रशासन, सञ्चार माध्यम र नगरबासीलगायत सम्पूर्ण क्षेत्रबाट सहयोग गर्न आह्वान गर्ने, कोभिड- १९ परीक्षणको दायरालाई फराकिलो पार्ने, नगरपालिका क्षेत्रभित्र स्वास्थ्य कर्मचारीलाई कोभिड रोकथाम,उपचार र नियन्त्रणमा अझ प्रभावकारी परिचालन तथा व्यवस्थापन गरिने भएको छ ।

 

यस्तै, बैठकले होटल, रेस्टुराँ, सिनेमा हल, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन जिमखाना, ब्युटिपार्लरलगायत सम्पूर्ण पसल बन्द गर्ने, सभा सम्मेलन, जुलुस, गोष्ठी, तालिम, धार्मिकजस्ता कार्यक्रम तत्काल नगर्ने नगराउने, अति आवश्यक पर्ने दुग्धजन्य पदार्थ, सागसब्जी, माछामासु, खाद्यान्न, औषधी, कृषिजन्य पसल, पेट्रोलियम, वारुण यन्त्र, एम्बुलेन्स, शव वाहन, फोहोरमैला व्यवस्थापन, पशुपक्षीलाई आवश्यक पर्ने आहार, इन्टरनेट, केवल र सञ्चार माध्यमबाहेकका सवारीसाधन पूर्ण रुपमा निषेध गरिनेछ ।

 

नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सरकारी संस्थान तथा वित्तीय संस्थाका कार्यालय पूर्ण रूपमा बन्द गर्ने र संघीय सरकारको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय र शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी तोकिएका केन्द्रमा सञ्चालन गर्न दिइने जनाइएको छ ।

 

कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक तथा नगरप्रमुख धु्रवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश १ का सांसद एकराज कार्की, पूर्व राष्ट्रिय सभा सदस्य डिल्लीप्रसाद सिटौला, बिर्तामोड नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद दाहाल सहभागी थिए ।

 

यस्तै, बैठकमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्य, सशस्त्र प्रहरी वेस क्याम्प शनिश्चरेका प्रमुख प्रहरी निरिक्षक हरिभक्त निरौला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका राजकुमार बस्नेत, नेपाल औषधी व्यवसायी संघका महासचिव जीवनकुमार खड्का विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सबै वडाका वडाध्यक्ष र जनप्रतिनिधिको उपस्थिति थियो ।

 

बिर्तामोडमा आइतबार मात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको तथ्यांकअनुसार हालसम्म कुल ३ हजार ४३५ जनामा संक्रमण भएको छ भने ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

 

दमक नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा

कोरोना संक्रमण फेरि बढेको भन्दै दमक नगरपालिकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ११ देखि १७ साउनसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गरेको हो । 

 

त्यस्तै, बिर्तामोड नगरपालिकाले १३ साउनदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । दमक नगरपालिकाले अत्यावश्यकीय काममा बाहेक घरबाहिर निस्कन रोक लगाएको छ ।


नगरपालिकाबाट अनुमति नलिई घर बाहिर निस्किएमा कारबाही हुने बताएको छ । सबै किसिमका व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था, सावारी साधन पूर्णरुपले बन्द हुने जानकारी दिएको नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।

 

शनिश्चरे बजार एक साताका लागि बन्द भयाे, बुद्धशान्ति गाउँपालिका सिल

यसअघि नै अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नम्बर ८ को कार्यालयले कोरोना संक्रमण फैलिएपछि बजार एक साताका लागि बन्द गरेको जनाएको छ । 


८ साउन राती १२ बजेदेखि १५ साउनसम्म बजार बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिए । त्यस्तै, समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिका सिल गरिएको छ ।


गाउँकार्यपालिका बैठकले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी गाउँपालिका सिल गरिएको पालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।