close

शीतभण्डार बनाउन जग्गा खोजी गर्दै फुङ्लिङ 

शीतभण्डार बनाउन जग्गा खोजी गर्दै फुङ्लिङ 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले शीतभण्डार निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले २१ साउनभित्र उपयुक्त प्रकृतिको जग्गा बिक्रीका लागि नगर कार्यपालिकामा प्रस्ताव पेस गर्न भनेको हो ।

 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र तामाङका अनुसार प्रस्तावित जग्गा कम्तीमा १५ रोपनी हुनुपर्नेछ । जग्गा राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय सडक वा कम्तीमा ६ मिटर चौडाइको मोटर बाटोले छोएको हुनुपर्नेछ । 

 

जग्गा चौकोस मिलेको र धरातल भरसक समथर भएको हुनुपर्ने मापदण्ड तोकिएको समेत तामाङले जानकारी दिए । जग्गा आसपासमा सकेसम्म हाइटेन्सन लाइनको विद्युत् सेवा उपलब्ध भएको, जग्गा भीरपहरा नभएको तथा नदी-खोला र पहिरोले कटान नगर्ने प्रकृतिको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।


एक व्यक्तिभन्दा बढीले संयुक्त रूपमा जग्गा उपलब्ध गराउन चाहे एउटै प्लट मिलेको जग्गा हुनुपर्ने प्रस्ताव तथा निवेदन संयुक्त रूपमा पेस गर्नुपर्ने नगरपालिकाको सर्त छ । प्रस्तावमा जग्गा प्रतिरोपनी कसरी बिक्री गर्न चाहेको हो सोको दररेट पेस गर्नुपर्ने र बिक्री गर्ने जग्गामध्ये दाताले निःशुल्क दिन चाहे सोको विवरणसमेत पेस गर्नुपर्नेछ । 


प्रस्ताव पेस गर्दा निवेदन साथ दिन चाहेको जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि, जग्गाधनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाको ट्रेस नक्सा र आव २०७७/७८ सम्म जग्गाको मालपोत बुझाएको रसिदको प्रतिलिपि पेस गर्नुपर्नेछ ।


जग्गा फुङ्लिङ नगरपालिका वडा नम्बर १ को महेन्द्र आधारभूत विद्यालय, वडा नम्बर २ को वीरेन्द्र मावि देवलिङ्गे, वडा नम्बर ३ को पालुङ्वाचौक केनिम वारपार पूर्व, वडा नम्बर ८ को बहानन्दे-हिटी-नाम्लेपाटी-चारपाटे उत्तर, सुकेटार बजार-गुप्ते पश्चिम र साविक हाङ्देवा गाविस वडा नम्बर २ सिद्धिडाँडा-जनता मावि हाङ्देवा-फुङ्लिङ नगरपालिका वडा नम्बर ६ दाहाल गाउँ दक्षिण चार किल्लाभित्रको हुनुपर्नेछ ।