close

सहयोगी मनले ठड्याइदिए खाम्बाको घर

सहयोगी मनले ठड्याइदिए खाम्बाको घर

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका वडा नम्बर ३ डाँडाकोट गाउँका खाम्बा नेपालीको घर सहयोगी मनबाटै बन्ने भएको छ । ८० वर्षीय वृद्ध नेपालीका घरपरिवार भए पनि एकल जीवन बिताइरहेका छन् ।

 

श्रीमती, छोराछोरी भए पनि अहिले उनको साथमा कोही छैन । सबैले छाडेर गए । अहिले एक्लै छन् । लामो समयदेखि भत्केको घरमा बस्दै आएका नेपालीको सुरक्षित बासका लागि सहयोगी दाताबाटै घर बनाउन थालिएको हो ।


सोही वडाका बुढ्थापा गाउँका शिक्षक मक्कर खत्रीसहित अभियन्ताको अभियानमा उनको एक कोठे, एक तले घर बनाउन थालिएको हो । घर अहिले निर्माणाधीन अवस्थामा छ । 


अभियन्ता खत्री भन्छन्, ‘लामो समयदेखि भत्केको घरमै बसिरहेको देखेपछि उनको बासका लागि घर बनाउने अभियान चलाएका हौँ । २ लाख ५९ हजार रुपैयाँ लागतको घर बनाउने स्टिमेट भए पनि यसको ५० प्रतिशत सहयोग जुटेपछि घर बन्छ भन्ने अपेक्षा थियो । त्यहीअनुरूप अभियान सुरु गरेका हौँ ।’  चन्दननाथ नगरपालिकाले विपद् कोषबाट ५० हजार रुपैयाँ उपलब्ध गराएको उनले बताए ।


‘अन्य सहयोगी मनको २÷२ हजारका दरले १ लाख रुपैयाँ जुट्यो । १ लाख ५० हजार रकम जुटेको छ । यसमा छानो छाप्न जस्तापाता पनि सहयोग भएको छ । आउँदो २ साताभित्र निर्माण सम्पन्न गर्नेछौँ,’ खत्रीले थपे ।


टालटुले घरमा बस्दै आए पनि कति बेला भत्किन्छ र मर्छु भन्ने चिन्ताले पिरोल्दै आएको नेपालीले सुनाए । ‘साउन, भदौको बर्खामा धेरै रात निदाउदिनँ । अहिले सबैको सहयोगमा घर बन्ने भयो । अब बाँचुन्जेल नयाँ बनेको घरमा बस्न पाउने भएँ’, उनले भने ।