close

तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी

तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारी

Trulli
ADVERTISEMENT

काठमाडौं- दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । 


ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयुमा हस्ताक्षर भएको हो । 


प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले एमओयुमा हस्ताक्षर गरे ।


करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्नेछ ।


जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई सेयर निष्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइनेछ ।
 
तामाकोसी पाँचौँ ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । तामाकोसी पाँचौँले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ । 


माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युत्गृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायत मुख्य संरचना निर्माण गर्नुपर्नेछ । 


विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४ जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ ।


आयोजनाको अहिले निर्माणपूर्वका काम भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।