close

छथर जोरपाटीका किसानलाई अनुदानमा बंगुरका पाठा

छथर जोरपाटीका किसानलाई अनुदानमा बंगुरका पाठा

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको ३८५ वटा बंगुरका पाठापाठी र आवश्यक सामग्री किसानलाई अनुदानमा वितरण गरेको छ । पालिकाले गत आर्थिक वर्ष २०७७/७८ को असारमा ४ कृषि समूहमार्फत ५५ जना किसानलाई ७५ प्रतिशत अनुदानमा बंगुरका पाठापाठी उपलब्ध गराएको हो ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रमअन्तर्गत २० लाख र लागत साझेदारीमा बंगुरपालन पकेट कार्यक्रमअन्तर्गत १९ लाख ८० हजार रुपैयाँ बराबरको उक्त अनुदान दिइएको हो । उक्त अनुदान पालिकाले जारी गरेको ३५ दिने सूचनाका अवधिमा परेका निवेदनमध्येबाट छनोट गरेर अनुदान दिइएको पशुपक्षी शाखा प्रमुख राजकुमार राईले बताए ।


अनुदानका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट आव २०७७÷७८ मा प्रदेश तथा स्थानीय तहमा ससर्त वित्तीय हस्तान्तरणमार्फत मार्गदर्शनमा आधारित कार्यविधिअनुसार छनोटमा परेका समूहलाई अनुदान उपलब्ध गराइएको राईले जानकारी दिए ।

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रमअन्तर्गत वडा नम्बर ३ को ढुंगे सहकारी संस्था र वडा नम्बर ५ को खोक्ताप बाँझ बिसौना पशुपालन समूहले २० लाख बराबरका पाठा अनुदानमा पाएका छन् । ढुंगे सहकारी संस्थाका १६ किसानले ८५ वटा र खोक्ताप बाँझ बिसौना पशुपालन समूहका १२ किसानले ८८ वटा उन्नत जातका बंगुर र बंगुरपालनसम्बन्धी आवश्यक सामग्री पाएका छन् ।

 

त्यस्तै, लागत साझेदारीमा बंगुरपालन पकेट कार्यक्रमअन्तर्गत वडा नम्बर १ को बुढासुब्बा कृषक समूह र वडा नम्बर ६ को छथरजोरपाटी बंगुरपालन समूहले १९ लाख ८० हजार बराबरको अनुदान पाएका छन् । बुढासुब्बा कृषक समूहका १३ किसानले ७९ वटा र छथरजोरपाटी बंगुरपालन समूहका १४ किसानले १६६ वटा बंगुरका पाठा तथा बंगुरपालनसम्बन्धी सामग्री पाएका छन् ।