close

‘बाकसभरि पैसा ल्याउँछु भन्थे, आफैं बाकसमा फर्किए’

‘बाकसभरि पैसा ल्याउँछु भन्थे, आफैं बाकसमा फर्किए’

Trulli
ADVERTISEMENT

खोटाङ- विदेसिने नागरिकको सपना हुन्छ, धेरै पैसा कमाउने अनि परिवारलाई सुखसयलका साथ पाल्ने । छोराछोरीलाई उचित शिक्षादीक्षा दिलाउने । प्रवासमा दस नंग्रा खियाउँदा कतिपयका सपना पूरा हुन्छन् भने कतिपयका बीचैमा भताभुंग हुन्छन् ।


वैदेसिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० अर्खौले फोक्टीका धनशेर राईको सपना त्यसरी नै सधैँका लागि भताभुंग बनेको छ । बाकसभरि सम्पत्ति लिएर आउने सपनामा विदेसिएका राई स्वयंलाई बाकसभित्र मृत फर्काइएका हुन् । 


धनसेर अल आइडर कम्पनीमा लेवरको काम गर्न ९ जेठ २०७५ मा साउदी पुगेका थिए । काम गर्ने क्रममा छातीमा सामान्य आगोले पोलेको निहुँमा अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तको भनाइ छ ।


राहदानी नम्बर ०६१५८३९२ भएका धनशेर दुई वर्षका लागि साउदी पुगेका थिए । गत १९ जेठमा मृत्यु भएका राईको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गाउँ ल्याएर दाहसंस्कार गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । 


मृतक राईका श्रीमती, एक छोरा र एक छोरी छन् । वृद्धवृद्धावस्थाका आमाबुबा छन् । सुन्दर भविष्यको सपना बोकेर विदेश पुगेका छोरा बाकसमा आउँदा ९० वर्ष पार परेका बाबुआमा उत्तिकै मर्माहत देखिन्थे ।

 

‘कमाउन गएका घरमूली बितेपछि एउटा परिवारको विचल्ली हुने नै भयो,’ मेयर राईले भने, ‘सुन्दर भविष्यको सपना सजाएर विदेश गएका छोराको शव बाकसमा आउँदा वृद्धवृद्धा अवस्थाका बाबुआमा टुलुटुलु हेर्दै आफ्नो भाग्यलाई सराप्दै गरेको दृश्य उत्तिकै दर्दनाक देखियो ।’ 

 

वैदेसिक रोजगारीका सिलसिलामा विदेश पुग्ने जिल्लाका दर्जनौँ कामदारले बर्सेनि अकालमा ज्यान गुमाउने गरेको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ ।