close

११ वर्षसम्म विदेशमै पोखिए पसिना, कोरोनाले स्वदेश लखेटेपछि बाख्रा पालेर लखपति

११ वर्षसम्म विदेशमै पोखिए पसिना, कोरोनाले स्वदेश लखेटेपछि बाख्रा पालेर लखपति

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ढोर लाकुरीबोटका आशमान गुरुङले ११ वर्षसम्म आफ्नो ऊर्जाशील जोश, जाँगर र पसिना विदेशी भूमिमै खन्याए । 

 

मलेसियाबाट छुट्टीमा घर आएका उनलाई गत वर्षको लकडाउनले फेरि हाजिर हुन जान दिएन ।त्यसपछि उनले नेपालमै अवसरको खोजी गर्न थाले । सम्भावना देखे, उन्नत जातको बाख्रापालनमा । 

 

दृढ संकल्पका साथ गाउँमै बोयर बाख्रा पाल्न थाले, आशमानले । सुधारिएको खोर बनाई सुरु गरेको बाख्रापालनमा २० लाख रुपैयाँ लगानी भएको छ । ४० बढी बाख्रा छन् ।

 

बाख्रापालनमा ३६ वर्षीय आशमानको झुकाव र मिहिनेत देखेर वडा कार्यालयले १ लाख रुपैयाँ अनुदान दिएको छ । गत आर्थिक वर्षको बजेटबाट हालै दिइएको यो रकमले बाख्रापालनमा निरन्तर लाग्न प्रेरित गरेको उनी बताउँछन् ।

 

‘अनुदानले व्यवसाय विस्तारमा हौसला थपेको छ’, उनले अगाडि भने, ‘अनुदानसँगै उत्पादनको बजारीकरण र मूल्यको ग्यारेन्टी भइदिए अझै सहज हुन्थ्यो ।’ 
राज्यले किसानलाई सघाउँदा बेरोजगार युवाले सम्भावनाको खोजी गर्न थाल्ने उनको भनाइ छ ।

 

एक दशक वैदेशिक रोजगारीमा बिताएर फर्किएका युवा जीवन हमाल ४ वर्षसम्म के गर्ने, कसो गर्ने अलमलमै थिए । बसाइँ झरेका उनी बाँझिएको बारीलाई उपयोग गर्दै बाख्रा पाल्ने सोचमा बाबियोडाँडा उक्लिए ।

 

६ महिना भयो बाख्रा पाल्न सुरु गरेको उनले । गोठभरि बाख्रा भइसकेका छन् । बाख्रा पाल्न कस्सिएका हमाललाई वडाले पनि सघाएको छ । उनलाई वडाले ५० हजार रुपैयाँ अनुदान दियो । 

 

‘यो रकमले लगानीमै टेवा पु-याउने त हैन तर हौसला पक्कै मिल्छ’, उनले भने । अनुदानसँगै प्राविधिक ज्ञान, नश्ल सुधार, घाँसको बिरुवा, बजार व्यवस्थापनमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

 

आर्थिक वर्ष २०७७/७८ मा शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ फिरफिरेका १७ जना बाख्रापालक किसानले ६ लाख रुपैयाँ वडाको अनुदान लिएका छन् । ढोर लाकुरीबोट, लाकुरीबोट, भोर्ले, बाँबियोडाँडा, वराहडाँडा, जस्पुरका किसानलाई अनुदान दिइएको हो ।

 

१ लाख र ५० हजार रुपैयाँ १/१ जनाले प्राप्त गरेका छन् । १५ जना किसानलाई ३० हजार रुपैयाँका दरले वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ । सबैको बैंक खातामा वडाले अनुदानको रकम हालिदिएको हो । 

 

बाख्रापालनलाई व्यावसायिक बनाएर किसानलाई आत्मनिर्भर बनाउन अनुदान उपलब्ध गराएको वडाध्यक्ष मनराज गुरुङले बताए । वडामा भौतिक पूर्वाधार र उत्पादनलाई समान दृष्टिले अगाडि बढाएको वडाध्यक्ष गुरुङको भनाइ छ ।

 

‘भौतिक पूर्वाधारले मात्रै समृद्धिको सपना पूरा हँुदैन । समृद्ध बन्न उत्पादन बढाउन आवश्यक छ । वडाको भूगोल, हावापानीले उपयुक्त भएकाले किसानलाई बाख्रापालनमा लाग्न प्रोत्साहन गरिरहेका छौँ ।’

 

उनले अनुदान उत्पादनमुखी भए नभएको अनुगमनसमेत गर्ने गरेको बताए । अनुदान वितरणका लागि मापदण्ड बनाएको उनको भनाइ छ । खोरको अवस्था, बाख्राको संख्या, घाँसको व्यवस्थापनलाई आधार मानेर अनुदान बाँडेको वडाध्यक्ष गुरुङले दाबी गरे ।

 

‘अनुदान प्राप्त गरेपछि कम्तीमा पनि ५ वर्ष बाख्रापालनमा लाग्नुपर्ने सम्झौता हुन्छ’, उनले भने । फिरफिरेका बाख्रापालक किसानले जनप्रतिनिधि निर्वाचित भएर आएपछि हरेक वर्ष अनुदान थाप्दै आएका छन् ।