close

बालविवाह वर्जित अभियान चलाउँदै रौतामाई

बालविवाह वर्जित अभियान चलाउँदै रौतामाई

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको रौतामाई गाउँपालिकाले बालविवाह न्यूनीकरण अभियान चलाउने प्रतिबद्धता जनाएको छ । किशोर–किशोरीमाथि हुने दुव्र्यवहार, विभेद र हिंसाविरुद्धको अभियानलाई टेवा दिँदै तिनको सशक्तीकरण तथा संरक्षण गर्न पालिकाका सरोकारवाला एकजुट भएका हुन् ।

 

जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा सम्पन्न २ चरणको तालिममा सहभागी सरोकारवालाले किशोर–किशोरीमैत्री काममा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए । 

 

कार्यक्रममा रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बालविवाहका घटना रौतामाईमा बढ्दै गएकाले न्यूनीकरण गर्न पालिकाले चालू आर्थिक वर्षदेखि नै बजेट छुट्याएको बताए ।

 

बजेट विनियोजन गरेर सरोकारवालाको सहकार्यमा बालविवाहविरुद्ध अभियान सञ्चालन गर्ने तथा केही वर्षभित्रै गाउँपालिकालाई बालविवाहमुक्त बनाउने प्रतिबद्धता उनले जनाए ।

 

वल्र्डभिजन इन्टरनेसनलको सहयोगमा जिड्सले १० देखि १९ वर्षसम्मका किशोर–किशोरीका विभिन्न सवालमा सरकारी तथा गैरसरकारी संस्थालाई राखेर सहजीकरण गरेपछि सरोकारवालाबाट यस्तो प्रतिबद्धता आएको हो ।

 

किशोर–किशोरी लक्षित कार्यक्रमको सहजीकरणमा जिल्ला प्रहरी, इलाका प्रहरी रौतामाई, जिल्ला अदालत, गैरसरकारी संस्था महासंघ शिक्षक, अभिभावकलाई सहजीकरण गरिएको थियो ।

 

त्यस्तै, गाउँपालिका, किशोर–किशोरी समूह, बार एसोसिएसन, ओरेक, बाल संगठन, युवा सञ्जाल, उद्योग वाणिज्य संघ, मानव अधिकारकर्मी, पत्रकार महासंघ, गाउँपालिका र वडास्तरीय बाल अधिकार समिति, एकद्वार संकट व्यवस्थापन प्रणाली, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयका प्रतिनिधि पनि सहजीकरणमा सहभागी थिए।

 

जिल्लाभित्र क्रियाशील सरकारी तथा गैरसरकारी संघ–संस्थाका २ दर्जन बढी सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको सहजीकरण तालिममा बालविवाह, हिंसा, उपेक्षा, दुव्र्यवहार, विभेदलाई न्यूनीकरण गर्दै पीडितलाई तत्काल राहत र न्याय हुने प्रणाली निर्माणमा जोड दिइएको थियो ।

 

बालबालिका र किशोर–किशोरीको अवस्थाबारे जानकारी गराइएको थियो । किशोर–किशोरी अधिकारविज्ञद्वय सागर बुढाथोकी र सुनील कोइरालाको सहजीकरणमा भएको तालिम ३ दिनसम्म चलेको आयोजक संस्था जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले बताए ।

 

उनका अनुसार जाल्पाले सन २०२१ देखि ३ वर्षका लागि रौतामाईका ८ वटै वडामा किशोर–किशोरी र बालबालिका संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

जिड्सका कार्यक्रम संयोजक अजयकुमार साहले रौतामाईले गत १० असारमा किशोर–किशोरी संरक्षणसम्बन्धी नीति २०७८ समेत गाउँसभाबाट पास गरिसकेको बताए । पारित नीतिका आधारमा बालविवाह न्यूनीकरण गर्न दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने सोच रहेको उनको भनाइ छ ।