close

निःशुल्क बिरुवा बाँडेर जडीबुटी खेती गर्ने किसानलाई नगदै अनुदान

निःशुल्क बिरुवा बाँडेर जडीबुटी खेती गर्ने किसानलाई नगदै अनुदान

Trulli
ADVERTISEMENT

दाङ– दाङको पहाडी भेगमा जडीबुटीका बिरुवा रोपेका किसानलाई मंगलबारदेखि प्रोत्साहनबापतको रकम वितरण सुरु गरिएको छ ।

 

डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको आयोजनामा घोराही र बंगलाचुलीका करिब ६ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो ।

 

सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडामा ७० हजार बढी बिरुवा रोपिएको छ ।

 

घोराही उप–महानगरपालिकाको वडा नम्बर १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर, मालागेडी र दालचिनीका बिरुवा रोपिएको
छ ।

 

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थामार्फत किसानलाई गाउँमै निःशुल्क बिरुवा उपलब्ध गराइएकामा प्रतिबिरुवा ३ रुपैयाँको दरले यो वर्ष प्रोत्साहनबापत २ लाख १० हजार रुपैयाँ दिइने संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताए ।

 

प्रोत्साहन रकम वितरण कार्यक्रमअन्तर्गत घोराही उप–महानगरपालिका वडा नम्बर १९ का च्यानगैरा, राम्चे, तिर्साङ, लाकुरीडाँडा, पटिन्जा र बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ का मर्पेस र खाडागाउँमै पुगेर प्रोत्साहनबापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिए ।

 

बिरुवा लगाउने किसानलाई सबै वडाका गाउँमै पुगेर १५ साउनसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माको भनाइ छ ।

 

जडीबुटीमार्फत स्थानीय किसानको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालय दाङले निःशुल्क बिरुवा, प्रोत्साहनबापतको रकम र फिल्डमा प्राविधिक सहयोगसमेत गर्दै आएको छ ।

 

कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्नेसम्मको योजना रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले बताए ।