close

त्रियुगाका ३३ कर्मचारी गयल 

त्रियुगाका ३३ कर्मचारी गयल 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाका कर्मचारी छड्केमा परेका छन । बिनाजानकारी कार्यालय नआउने ३ दर्जन कर्मचारी छड्केमा परेका हुन् । कार्यालय नआउने, आए पनि कार्यकक्षमा नबस्ने कर्मचारी छड्के अनुगमनमा परेका हुन् ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजित राईले गरेको छड्के अनुगमनमा नगरपालिका मातहतका विभिन्न विषयगत शाखाका कर्मचारी छड्केमा परेका हुन् ।


निमित्त प्रमुख राईका अनुसार त्रियुगाको कृषि शाखा, पशु सेवा, स्वास्थ्य सेवालगायत विभिन्न शाखामा गरिएको छड्के अनुमगनमा अधिकृत स्तर सातौँदेखि कार्यालय सहयोगीसम्म विभिन्न तहका ३३ कर्मचारी अनुपस्थित रहेको भेटिएको छ । 


बिनाजानकारी कार्यालय समय अनुपस्थित रहेका कर्मचारीलाई छड्केमा कारबाही गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले बताए । उनका अनुसार छड्केमा परेका ३३ कर्मचारीमाथि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको जवाफ तथ्य, प्रमाणसहित चित्तबुझ्दो नआए निजामती सेवा ऐनअनुसार कारबाही गरिने उनले जानकारी दिए । 


निजामती ऐनमा नियमविपरीत गर्ने कर्मचारीको तलब कटौतीदेखि विभागीय कारबाहीसमेत हुने व्यवस्था छ । कार्यालय समय कार्यकक्षमा बसेर सेवाग्राहीको काम गर्नुपर्नेमा काम नगरी अन्यत्र कार्यालयबाहिर निस्किएका कर्मचारीलाई कारबाही गरिनुपर्ने सेवाग्राहीको माग छ ।


प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापा बिदामा रहेका बेला नगरपालिकाका कर्मचारी कार्यालय नआउने, आए पनि कार्यकक्षमा नबस्ने, सेवाग्राहीको कामप्रति बेवास्ता गर्दै गफिँदा नगरबासीले नियमित सेवा पाउन नसकेको गुनासो आउने गरेको छ ।


एकै दिन ३३ कर्मचारी अनुपस्थित हुँदा नगरपालिकाबाट दिइने सेवा प्रभावित भएको छ । वर्षायामका बेला टाढा-टाढाबाट सेवा लिन आएका नगरबासी कर्मचारी नहुँदा सदरमुकाममै बस्नुपर्ने अवस्था आएको वडा नम्बर १५ सेवाग्राहीले गुनासो गरे ।