close

वालिङमा वैकल्पिक सिकाइका लागि निःशुल्क सिमकार्ड वितरण

वालिङमा वैकल्पिक सिकाइका लागि निःशुल्क सिमकार्ड वितरण

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकाले  वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ ।


स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी गरी ७ हजार ५०० जनालाई नेपाल टेलिकम तथा एनसेलले इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए । 


‘कोभिड-१९ का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुने स्थिति रहेन’, शाखा प्रमुख सापकोटाले भने, ‘सबै विद्यार्थीको पहुँचमा इन्टरनेटको सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुन नसकेकाले टेलिकम र एनसेलको सहयोगमा इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएका हौँ ।’

 

नगरभित्रका १४ वटा वडाका ७२ सामुदायिक विद्यालयका ४५० जना शिक्षकसहित ७ हजार ५०० जना विद्यार्थीलाई उनीहरूको ठाउँमा जुन÷जुन कम्पनीको सेवा राम्रो छ, सोहीअनुसारका सिम उपलब्ध गराइएको शाखा प्रमुख सापकोटाले जानकारी दिए ।


सामुदायिकतर्फ ५६ वटा आधारभूत विद्यालय र १६ वटा माध्यमिक विद्यालय रहेको वालिङ नगरभित्र ५ हजार टेलिकमका सिमकार्ड र २ हजार ५०० एनसेलका सिमकार्ड निःशुल्क वितरण गरिएको हो । टेलिकमको सिमकार्डमा इन्टरनेट प्याकेजका लागि ३२१ र एनसेलको सिमकार्डमा ३१० रुपैयाँले १ महिनासम्म इन्टरनेट चलाउन सकिनेछ । त्यसपछि शिक्षक-विद्यार्थी आफैंले रिचार्ज गर्नुपर्नेछ ।


नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकलाई आईसिटीमा आधारित आधारभूत शिक्षण विधिलाई सहयोग पुग्ने गरी अनलाइनसम्बन्धी ज्ञान दिइसकेको सूचना प्रविधि शाखाका प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए ।


१६ वटा माध्यमिक विद्यालयमा कम्प्युटर, प्रिन्टर वितरण गरिसकिएको छ भने इन्टरनेट सेवाप्रदायकसँग सम्झौता गरी इन्टरनेटको सेवा विस्तार गरिएको अर्यालको भनाइ छ । महामारीका कारण प्रभावित बनेको शिक्षण सिकाइ क्रियाकलापलाई ब्यवस्थित, प्रभावकारी र उपयोगी बनाउन यो अभियानले भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन् ।


इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकिरहेको गुनासो आइरहँदा यसको समाधानका लागि इन्टरनेट प्याकेजसहितको सिमकार्ड वितरण गरिएको भट्टराईले बताए । स्मार्ट सिटी घोषणा भई कार्यान्वयनका क्रममा रहेकाले शिक्षाका क्षेत्रमा निर्धारण गरिएका लक्ष्य भेट्याउन आइसिटीको विशेष टिम बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

 

कोभिड महामारीको समय विद्यार्थीमाझ पुग्न कठिन भइरहेका बेला यो विधि महत्त्वपूर्ण र उपयोगी हुने जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगालेले बताए । वैकल्पिक सिकाइ क्रियाकलापका लागि टेलिकम र एनसेलको सहयोगमा निःशुल्क सिमकार्ड व्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । 


शिक्षासँगै बालबालिका क्षेत्रमा विनियोजन गरिएको रकम खर्च नभई लगानी भएको र यसले भोलिका दिनमा उपलब्धि देखिँदै जाने उनको धारणा छ । नगरभित्रका १४ वटै वडाका ३१० वटा गाउँमा इन्टरनेटको पहुँच विस्तार गर्न सेवाप्रदायकसँग सम्झौता भई काम अगाडि बढिसकेको उनले बताए ।


माध्यमिक तहका १६ विद्यालयलाई कम्प्युटर, ल्यापटप, स्क्यानर, प्रिन्टर उपलब्ध गराइसकिएको छ भने आधारभूत तहका ५६ विद्यालयमध्ये पहिलो चरणमा २४ वटा विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको छ ।


नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को शिक्षा क्षेत्रको स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत विद्यालयमा कम्प्युटर तथा अनलाइन सफ्टवेयर व्यवस्थापनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको थियो । बाँकी ३२ वटा विद्यालयलाई यही साउन महिनाभित्रै टेन्डर गरी उपलब्ध गराउने तयारी भएको नगरपालिकाले जनाएको छ ।