close

अझै बनेन पंखु खोलाको मोटरेबल पुल (भिडियो खबर)

अझै बनेन पंखु खोलाको मोटरेबल पुल (भिडियो खबर)

ADVERTISEMENT

खोटाङ- ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको पंखु खोलाको मोटरेबल पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल तीन वर्षदेखि अलपत्र परेको हो ।

 

२०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हालसम्म ठेकेदारले दुई किनारामा पिलर मात्र ठड्याउने बाहेकका काम गर्न सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने पंखु खोला पुल २ करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले २०७२ साल असोज ७ गते ठेक्का सम्झौता गरेको थियो । तर, ठेकेदारले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको हो । 

 

छिमेकी जिल्ला भोजपुरसँग जोड्ने सडक खण्डमा पर्ने यो पुलको सब-स्ट्रक्चर र फाउण्डेसनको काम भइसकेको छ । तर, सुपर–स्ट्रक्चरको काम बाँकीे छ । पंखु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद समेत २०७७ साल असारमै सकिएको थियो । सम्झौता म्याद गुज्रेको तीन वर्ष बित्दा समेत पुलको काम पूरा नहुँदा पिलरको रडमा खिया लागेको छ ।

 

निर्माण कम्पनीले आवश्यक निर्माण सामग्री समेत निर्माणस्थलमा जम्मा गर्न सकेको छैन । बेलामा पुल निर्माण नहुँदा आवातजावतमा समस्या भइरहेको छ ।पुल निर्माणको काम अलपत्र परेपछि २०७६ सालमा १५ दिने सूचना प्रकाशित गरिएको थियो ।

 

सूचना प्रकाशित गरेपछि प्रतिनिधिका रूपमा हरिनारायण देवकोटालाई निर्माणस्थलमा पठाएको ठेकेदार कम्पनीले पुलको थप भौतिक प्रगति भने देखाउन नसकेको स्थानीयको भनाइ छ । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा निर्माण कम्पनीलाई बारम्बार ताकेता गरिएको नगरपालिकाले जनाएको छ । 

 

मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डकै तीन वटा खोलामा अझै पुल निर्माणको सुरसार गरिएको छैन । चखेवाभञ्ज्याङ–दिक्तेलको दिक्तेल–माम्खा सडक खण्डमा कालोपत्रे भइसक्दा सो खण्डका तीन खोलामा निर्माण हुने पुलको अत्तोपत्तो छैन । दिक्तेल-माम्खा सडक खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा कहिलेबाट पुल निर्माण सुरु होलान् भन्ने प्रतिक्षाकै विषय बनेको छ ।