close

सहयोगी मनले ठड्याइदिए खाम्बा नेपालीको घर (भिडियो खबर)

सहयोगी मनले ठड्याइदिए खाम्बा नेपालीको घर (भिडियो खबर)

ADVERTISEMENT

जुम्ला- सामान्यतया गरिबी भन्ने वित्तिकै मानिसले बाच्नका लागि आवश्यकीय न्यूनतम कुराहरू खाद्य, लत्ताकपडा, आवास, खानेपानी, स्वास्थ्य, शिक्षाजस्ता आधारभुत कुराहरुको अपुग हुनु निम्नस्तरको जीवन आयपन गर्न वाध्य हुनु भन्ने बुझिन्छ । अर्थात् गरिबी भनेको यस्तो अवस्था जसले मानिसलाई मानव भएर बाच्नुको पहिचान दिलाउन बाट बाञ्चित गरेको हुन्छ । उनीहरू खान, लाउन नपाउँदा अन्तिम श्वास फेर्न बाध्य हुन्छन् । तर, सबैको नसिब त्यस्तो पनि हुँदैन । यस्तै, गरिबीमा बाँचिरहेका जुम्लाको चन्दननाथ नगरपालिकाका विपन्न व्यक्तिलाई उकास्न सहयोगी मन सक्रिय भएका छन् । 

 

खाम्बा नेपाली उमेरले ८० कटे । अहिले उनी जुम्लाको खलंगास्थित चन्दननाथ नगरपालिका–३ डाँडाकोटमा एक्लो जीवन बिताइरहेका छन् । उनको घरपरिवार नभएको होइन । तर, श्रीमती, छोराछोरीले छोडेपछि उनी एक्लै जीवन बिताइरहेका छन् । उनी भत्किएको घरमा लामो समयदेखि बस्दै आएका थिए । भूकम्प, बाढी,पहिरोमा पनि भत्केकाे घरमा बसेका उनलाई अहिले भने सहयोगी मनले आर्थिक सहयोग गरेर घर बनाइदिन सुरु गरेका छन् ।

 

भत्किएको घरबाट छिटै छुटकारा पाउँदै गर्दा नेपाली गदगद छन् । उनी नयाँ घर बनाइदिनेप्रति कृतज्ञता पनि जनाइरहेका छन् । नगरपालिकाको वडा नम्बर ३ का बुढथापा गाउँका समाजसेवी शिक्षक मक्कर खत्रीसहित अभियन्ताको अभियानमा अहिले नेपालीका लागि एक कोठे, एक तले घर बनाउन थालिएको हो ।

 

लामो समयदेखि आधा भत्केको घरमा बसिरहेको देखेपछि उनलाई घर बनाउने अभियान थालिएको अभियन्ता खत्री बताउँछन्  । दुई लाख ५९ हजार लागतको घर बनाउने स्टिमेट भएपनि ५० प्रतिशत सहयोग जुटेपछि घर बन्छ भन्ने थियो । खत्रीले भने त्यही अनुरुप अभियान सुरु गरेका हुन् । 


चन्दननाथ नगरपालिकाले विपद् कोषबाट ५० हजार उपलव्ध गरायो । अन्य सहयोगी मनहरुले दुई-दुई हजारका दरले एक लाख रकम जुट्यो । सवै गरी एक लाख ५० हजार रकम जुटेको हो । यसमा छाना छाप्नका लागि जस्ता पाता पनि सहयोग भएको छ । यसको दुई हप्तामा निर्माण कार्यसम्पन्न हुदैछ । निर्माण सम्पन्न भएपछि हस्तान्तरण गर्ने योजना बनाइएको छ  । 

 

कोही रहरले विपन्न हुँदैनन् । विपन्न भएकालाई सहयोग गर्नु सबैको दायित्व र कर्तव्य हो । यस्तै, कर्तव्य वहन गरिरहेका सहयोगी हातहरू नेपालीको जीवनमा भगवान बनेर आएका छन् । नगरपालिकाको समेत सहयोगले नेपाली त बौरिएलान् । उनी जस्तै कयौँ अझै यस्तै जीवन बिताइरहेका होलान् । उनीहरूको पनि पुर्नस्थापना गर्न स्थानीय सरकार तनमनका साथ लाग्नुपर्छ ।