close

बाजुराका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक 

बाजुराका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक 

Trulli
ADVERTISEMENT

बाजुरा- शैक्षिक सत्र सुरु भएको एक महिना बिते पनि बाजुराका सामुदायिक र संस्थागत विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कोरोना महामारीका कारण २ महिना ढिलो गरी सुरु भएको शैक्षिक सत्र एक महिना बित्नै लाग्दा पनि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो । 


कोरोना महामारीका कारण अस्तव्यस्त पठनपाठन समयमै पाठ्यपुस्तक पुग्न नसक्दा थप प्रभावित बनेको हो । पाठ्यपुस्तक ढुवानी गर्ने समयमा पानी परेर बाटो अवरुद्ध भएको र कोरोना महामारीका कारण पुस्तक खरिद प्रक्रिया समयमै गर्न नसक्दा वितरणमा ढिलाइ भएको वितरकले बताउँदै आएका छन् ।


१ असारदेखि शैक्षिक सत्र सुरु भएर हाल भर्नालगायत काम भए पनि पाठ्यपुस्तक समयमै वितरण गर्न नसक्दा विद्यार्थी थप अन्योलमा रहेको र पढाइ प्रभावित भएको स्वामीकार्तिक माविका निमित्त प्रधानाध्यापक नहकुल जोशीले बताए ।


विद्यार्थी भर्ना हुन आउँदा नै पाठ्यपुस्तक दिनुपर्ने व्यवस्था भए पनि वितरकले समयमै ल्याउन नसक्दा विद्यार्थीले हालसम्म पाउन नसकेको उनको भनाइ छ । यस शैक्षिक सत्रदेखि कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने भएकाले पुराना पाठ्यपुस्तकले समेत काम नगर्ने हुँदा वितरण नगरिएको उनले बताए ।


वितरकले पुस्तक ल्याउने क्रम जारी भएकाले अबको एक सातामै विद्यार्थीले पुस्तक पाउने उनको भनाइ छ । देशका सुविधासम्पन्न विद्यालयले अनलाइन कक्षा लिएर पढाइलाई निरन्तरता दिए पनि बाजुराको निर्वाचन क्षेत्र नं. ‘क’का कुनै पनि विद्यालयले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।


एकता स्टोरका सञ्चालक नरेश शाहीले केही पाठ्यपुस्तक पिलुचौरमा पुर्याइएकाले अबको केही दिनमा वितरण गर्ने तयारीमा रहेको जानकारी दिए । वर्षाका कारण बाटो अवरुद्ध हुँदा पाठ्यपुस्तक ढुवानीमा समस्या भएको उनको दाबी छ । 


त्यस्तै, रारा बुक्स एन्ड स्टेसनरी अर्डर सप्लायर्सका सञ्चालक सञ्जय रोकायाले जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक खरिद गरेर ल्याइसकिएको र वर्षाका कारण बाजुरातर्फको बाटो अवरुद्ध भएको हँुदा कालीकोटबाट ल्याउँदा त्यहाँको समेत बाटो अवरुद्ध भएर जाडगोठमा थन्किएको बताए ।  बाटो खुल्नेबित्तिकै पुस्तक ल्याएर वितरण गर्ने तयारीमा रहेको उनको भनाइ छ ।


‘खरिद भएर ढुवानी भए पनि वर्षाका कारण धनगढीमा केही समय थन्किएकाले समयमा किताब पुर्‍याउन नसकिएको हो’, उनले भने । कोरोनाका कारण बन्द अवस्थामा रहेका विद्यालय हाल आंशिक रूपमा सञ्चालनमा आए पनि यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सकिएको छैन । बितेको अघिल्लो वर्ष र यो वर्ष कोरोनाका कारण विद्यार्थी आफैँले पढिरहेका छन् । सुविधासम्पन्न ठाउँमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा ठप्प भएको अभिभावकको चिन्ता छ ।


जिल्लाका ९ वटा स्थानीय तहमध्ये कुन्ना क्षेत्रका स्वामीकार्तिक माध्यमिक विद्यालय र कोल्टीको जनप्रकाश माध्यमिक विद्यालयमा पुस्तक वितरण भए पनि अन्यमा भने वितरण हुन नसकेको शिक्षक बताउँछन् । शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका अनुसार जिल्लामा ४ सय ७७ सामुदायिक र ३० वटा संस्थागत गरी जम्मा ५ सय ७ वटा विद्यालय छन् । यी विद्यालयमा ५१ हजार १ सय ९ जना विद्यार्थीले पाठ्यपुस्तक अभाव खेपिरहेका छन् ।