close

कृषकलाई पेन्सन दिने पहिलो पालिका (भिडियो वार्ता)

कृषकलाई पेन्सन दिने पहिलो पालिका (भिडियो वार्ता)

Trulli
ADVERTISEMENT

बाजुराको वुढीगंगा नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहसँग पालिकाखबर बुलेटिनका लागि पालिकाले कृषि क्षेत्रमा गरेको लगानी, पूर्वाधारमा पालिकाको प्रयत्न, सामाजिक विकासका लागि चालिएका कदमलगायतका विषयमा करिष्मा कार्कीले गरेको कुराकानी:

 

पालिकाभित्रका कृषकलाई पेन्सन दिन कार्यविधि नै बनाएर काम गरिरहनु भएको छ । यो कार्यक्रमबाट कति कृषकले कस्तो लाभ लिएका छन् ? 

यो वर्ष कृषक पेन्सनबाट ३७ किसान लाभान्वित हुनुभएको छ । त्यसले उत्पादनलाई बढाएको छ । किसानलाई पेन्सन दिने हामी पहिलो पालिका हो । अवधारणा बनाएर अघि बढाएका छौँ । त्यसले किसानलाई प्रोत्साहन गरेको छ ।

 

कृषिकै कुरा गरौं, कृषकहरुलाई अनुदानमा चौपाया वितरण गरियो तर भनेजति प्रतिफल आएन, कृषकले उत्पादन गरेको दुग्धजन्य बस्तुले बजार पाएन भन्ने गुनासो छ । यो विषयमा तपाईहरुको ध्यान गएको छ कि छैन ?

हामी कहाँ कृषि उपज हुन्छ । उत्पादन न्यून हुन्छ । किसानले जुन उत्पादन गरेको कुरालाई बजारीकरण गर्ने कुरामा हामी सचेत छौँ । कम उत्पादन हुने हुँदा बजारको समस्या छ । विशेषगरी तरकारी बढेको छ । पालिकालाई पुर्याएर पनि बाहिरको जिल्लामा पनि उत्पादन बेच विखन भइरहेको छ । पछि किसानको उत्पादनलाई बाहिर पठाउन कोल्ड स्टोर बनाउने योजना बनाएको छौँ । एउटा बनेको छ अरु बनाउँदैछौँ । त्यो स्टोरमा उत्पादन राख्ने र बाहिर पठाउने सजिलो होला भन्ने हाम्रो अपेक्षा छ ।

 

सडक संजाल पुर्याउन डोजर नै खरिद गरेर बाटो खन्दै हुनुहुन्छ तर डोजरका कारण जाने पहिरोले बस्तीपनि उत्तिकै जोखिममा छ । विकासलाई अघि वढाउदा मानवबस्ती तथा वातावरण संरक्षणमा कसरी सन्तुलन मिलाइरहनु भएको छ ?

अहिले हामीलाई यातायात आवश्यक छ । लागतको हिसाबले सबैलाई बाटो चाहिएको छ । सबैले घरघरमै बाटो खोजिरहनुभएको छ । पहाडमा बाटो खन्ने कुरा सजिलो छैन । भिरालो जमिन भएकाले धेरै क्षति हुन्छ ।त्यसैले हामीसँग पहिलो डोजर थिएन । एउटा डोजर खरिद गर्यौँ । त्यसले सडक अवरुद्ध हुँदा स्लिप हटाउन मात्रै प्रयोग गछौँ । ठेक्कामा लाग्ने बाहेकमा हामीले उपभोक्ता समितिलाई हातले नै गर्न लगाएका छौँ । तर, लागत धेरै लाग्ने ठाउँमा हामीले प्राविधिकसँग सल्लाह गरेर मात्रै डोजर प्रयोग गर्ने गरेका छौँ । 

 

महिनावारी हुँदा छाउ बार्ने कुप्रथाले बलियो जरा गाडेको छ, यो सामाजिक कुरितीविरुद्ध पालिकाले कसरी काम गरिरहेको छ ?


घरभित्र जान नहुने, टाढा नहुने, भान्सामा जान नमिल्ने कुराहरू छन् । गाईको गोरस खान नमिल्ने लगायतका कुरीति छ । हामीले हाम्रो पालिकामा सामाजिक सचेतना दिएर उन्मुलन गर्नुपर्छ भनेका छौँ । धेरै ठाउँमा विभेद हटेको छ । सबै छाउगोठ हटाएका छौँ । घरभित्र बस्ने परिस्थितिको निर्माण गरेका छौँ । यो बेलामा शरीर कमजोर हुन्छ, पोषणयुक्त कुरा खुवाउनुपर्छ, सहज रुपमा लिनुपर्छ भनेर सचेतना दिइरहेका छौँ । 


अलिकति बजेटको कुरा गरौं । चालु वर्षको बजेट ल्याउनुभएको छ, यसपटक तपाईहरुका प्राथमिकता के हुन् ?


कोभिडको महामारी छ । त्यसैले त्यसलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ । शिक्षा पनि प्राथमिकतामा छ । कृषि, भेटेरिनरी, सडक, खानेपानीका कुरा पनि अघि बढाएका छौँ । स्वास्थ्य प्राथमिकतामा पर्नुको कारण भने तेस्रो लहरको आकलन गरिरहेकाले त्यसलाई ध्यानमा राख्दै आइसोलेसन, स्वास्थ्य चौकीबाट चिकित्सकको व्यवस्थापन गरिरहेका छौँ ।