close

भरतपुर महानगरले बाँड्यो किसानलाई मिल्क मेसिन र चापाकटर

भरतपुर महानगरले बाँड्यो किसानलाई मिल्क मेसिन र चापाकटर

Trulli
ADVERTISEMENT

चितवन- चितवनको भरतपुर महानगरपालिकाले किसानलाई मिल्किङ मेसिन र चापाकटर वितरण गरेको छ । महानगरभित्रका किसानलाई अनुदानमा मिल्किङ मेसिन र चापाकटर हस्तान्तरण गरिएको हो । १७ वटा व्यावसायिक फार्मलाई मिल्किङ मेसिन तथा २१ वटा फार्मलाई चापाकटर वितरण गरिएको हो ।


कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषि यान्त्रिकीकरणमा महानगरले जोड दिएको बताइन् । महानगरले आवश्यकताअनुसार किसानलाई कृषि उपकरण अनुदानमा उपलब्ध गराउँदै आएको बताइन् ।


लागत न्यून गरेर उत्पादन बढाउने कार्यमा महानगरले जोड दिँदै आएको उनको भनाइ थियो । महानगरले बजेटमा कृषिलाई विशेष जोड दिएको उनले जानकारी गराइन् । यस्ता कार्यक्रमलाई प्रभावकारिताअनुसार निरन्तरता दिँदै जाने उनको भनाइ थियो


महानगर उपप्रमुख पार्वती शाह ठकुरीले दुग्ध व्यवसायलाई थप व्यवसायिकीकरणका गर्न महानगरले अनुदानका बिभिन्न कार्यक्रम अघि बढाएको बताइन् ।


भरतपुरले कृषिमा ठूलो सम्भावना बोकेकाले महानगरले पनि बजेटमा महत्त्वका साथ कृषिलाई जोड दिएको जानकारी दिइन् । किसानले अनुदान प्राप्त उपकरणको सदुपयोग गर्ने विश्वास उनले व्यक्त गरिन् ।

 

मिल्किङ मेसिनले एकै पटकमा ३ देखि ५ मिनेटमा गाई दुहुन सक्ने भएकाले श्रम र समय दुवैको बचत हुनेछ । चापाकटरबाट घाँस काटेर पशुलाई खुवाउन तथा थोरै आहारबाट पनि पशुपालन गर्ने सक्ने भएकाले निकै उपयोगी हुनेछ ।

 

महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार चापाकटरको बजार मूल्य प्रतिमेसिन ३० हजार रुपैयाँ छ । गत वर्ष नै अनुदानका लागि आवेदन परेका १० तथा यो वर्षका १० जना किसानलाई चापाकटर वितरण गरिएको हो ।


गत वर्ष आवेदन परेका १० जना किसानलाई शतप्रतिशत अनुदान तथा यस वर्षकालाई ५० प्रतिशत अनुदानमा चापाकटर वितरण गरिएको उनले बताए ।

 

यस्तै, गत वर्ष नै आवेदन परेका १७ जना किसानलाई ७५ प्रतिशत अनुदानमा मिल्किङ मेसिन वितरण गरिएको हो । मिल्किङ मेसिनको बजार मूल्य १ लाख ७५ रुपैयाँ छ ।