close

७ महिनादेखि भद्रगोल मुगु अस्पताल

व्यवस्थापन समिति नहुँदा प्रशासनिक कामकाज प्रभावित

७ महिनादेखि भद्रगोल मुगु अस्पताल

व्यवस्थापन समिति नहुँदा प्रशासनिक कामकाज प्रभावित

Trulli
ADVERTISEMENT

मुगु- मुगुको जिल्ला अस्पतालमा व्यवस्थापन समिति अभावले प्रशासनिक कामकाजमा समस्या भएको छ । गत माघदेखि अस्पताल व्यवस्थापन समितिको अवधि सकिए पनि हालसम्म नयाँ अध्यक्ष नियुक्ति नहुँदा भद्रगोल देखिएको हो ।

 

कर्णाली प्रदेश सरकार मातहतको अस्पताल ७ महिनासम्म व्यवस्थापन समितिविहीन हुँदा भौतिक पूर्वाधार निर्माण, कर्मचारी परिचालन, आर्थिक लेखाजोखा, अनुगमनलगायत प्रशासनिक काममा बाधा पुगेको अस्पताल बताएको छ ।

 

७ महिनादेखि समिति गठन नहुँदा प्रशासनिक कामकाजलगायत सबै कार्यमा बाधा उत्पन्न भएको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक दीपबहादुर रावलले बताए । 

 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्ने प्रावधान छ । तर, लामो समयसम्म अध्यक्षको नियुक्ति नहुँदा अस्पताल सञ्चालनमा अप्ठेरो परेको छ ।


समितिले पूर्णता नपाउँदा जिल्ला स्वास्थ्य अस्पताल सञ्चालनमा असहज भएको छ । समिति नहुँदा कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकसमेत अन्योलमा छन् ।

 

जिल्ला अस्पतालमा व्यवस्थापन समिति गठन ढिलाइले प्रशासनिक काम लथालिंग देखिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए । उनले भने, ‘प्रदेश सरकारले चाँडो समिति गठन प्रक्रियालाई पूर्णता दिनुपर्छ ।’ 

 

करारको भरमा जिल्ला अस्पताल

जिल्ला अस्पतालमा करार सेवामा १२ जना चिकित्सक कार्यरत छन् । १० जना एमबिबिएस र २ जना डेन्टल सेवाका कर्मचारी छन् । जिल्ला अस्पतालमा ९ औँ तहका डाक्टर प्रमुख हुने व्यवस्था भए पनि स्थायी वा विशेषज्ञ डाक्टर छैनन् ।

 

स्थायी दरबन्दीमा रहेका २ जना हाल अध्यनमा गएका छन् । स्थायी चिकित्सक नहुँदा स्वास्थ्य सेवा नागरिकलाई उपचारमा समेत समस्या भइरहेको छ । अस्पतालमा स्थायी डाक्टर भए औषधोपचारदेखि सबै व्यवस्थापनमा सहज हुने हुँदा मन्त्रालयले यसतर्फ ध्यान दिएको पाइँदैन ।

 

सधैँजसो निमित्त प्रमुखको भरमा चल्ने यो अस्पताल हाल करार डाक्टरको भरमा चलेको छ । नवौँ तहको स्थायी चिकित्सका लागि प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयमा माग गर्दा सुनुवाइ नभएको अस्पतालले जनाएको छ । 

 

करार सेवामा कार्यरत चिकित्सकले सीमित बिरामीको उपचारमा मात्र काम गर्ने तर प्रशासनिक तथा कारोबार गर्न अधिकार नपाउने हँुदा समस्या देखिने गरेको हो ।