close

कावासोतीको विकास बजेट ६७ प्रतिशत मात्रै खर्च

कावासोतीको विकास बजेट ६७ प्रतिशत मात्रै खर्च

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा जम्मा ७४ दशमलव ८४ प्रतिशत मात्रै बजेट खर्चिएको छ । 

 

नगरपालिकाको आन्तरिक राजस्व, संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुदान, ससर्त बजेट गरी १ अर्ब १७ करोड ४ लाख ३१ हजार ८ सय ७४ रुपैयाँ जम्मा बजेट रहेको कावासोतीले चालूतर्फ ८४ दशमलव ९८ प्रतिशत र पुँजीगततर्फ अर्थात् विकास बजेट ६७ दशमलव १४ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । 


कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार चालूतर्फको शीर्षकमा रहेको ५० करोड ५४ लाख ७० हजार ३ सय ८८ मध्ये ४२ करोड ९५ लाख ३१ हजार ८ सय ६४ रुपैयाँ ४९ पैसा मात्र खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ अर्थात् विकास बजेट ७० करोड ४९ लाख ६१ हजार ४ सय ८६ बजेट रहेकामा ४४ करोड ६४ लाख ७४ हजार ४ सय ९० रुपैयाँ मात्र खर्च भएको छ । 


राष्ट्रिय स्तरको खर्च हेर्दा कावासोतीको खर्च धेरै राम्रो भन्न मिल्ने भए पनि बजेट शतप्रतिशत खर्च हुनु राम्रो हुने कावासोतीका स्थानीय एवं अर्थशास्त्रका प्रध्यापक भपेन्द्रश्वर भुसाल बताउँछन् । भुसालले भने, ‘बजेट कम खर्च हुँदा अर्थतन्त्र चलायमान हुँदैन । मुद्राको स्टक जम्मा हुनु राम्रो मानिँदैन । यसले जनस्तरका मजदुरसम्म पुग्नुपर्ने पैसा पुग्न सक्दैन ।’ 


प्रमुख प्रशासकीय अधिकृत घर्तीले कोभिड-१९ को निषेधाज्ञाका कारण कतिपय रकम खर्च हुन नसकेको बताए । ससर्त अनुदानमा आएका केही रकम फ्रिज भएर फिर्ता गएको उनले जानकारी दिए । त्यसो त कावासोतीले केही निर्माणाधीन योजनालाई अघिल्लो वर्षकै बजेटबाट खर्च गर्ने गरी जारी राखेको छ ।


यसमध्ये आधारभूत स्वास्थ्य भवनतर्फको १ करोड ७१ लाख ५५ हजार, सहरी शासन तथा पूर्वाधार आयोजनातर्फको २ करोड ७ लाख ९९ हजार, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वाल निर्माणतर्फको २ करोड ८५ लाख र वडा कार्यालय भवन निर्माणतर्फको १ करोड ६६ लाख रुपैयाँ रहेको प्रशासकीय अधिकृत घर्तीले बताए ।