close

सडक बनाउन स्थानीयकै अवरोध (भिडियो खबर)

सडक बनाउन स्थानीयकै अवरोध (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- नागरिकको सहजताका लागि नै विकास गर्ने गरिन्छ । गाउँगाउँमा विकासको मुल फुटाउन भनेर सरकारले नै विभिन्न योजना लिएर जान्छ । अहिले त स्थानीय सरकारले नै आफ्नो गाउँ, आफै बनाउँ भन्ने नारा दिएर अघि बढेका छन् । तर, विकासका योजना अघि बढाउन भने स्थानीय स्तरबाट नै अवरोध सृजना हुने गर्दछ ।

 

उपभोक्ता समितिमा बस्न नपाएको देखि मुआब्जा र विकास देख्नै नचाहनेले नै विरोध गरिरहेका हुन्छन् । यस्ता थुप्रै योजना स्थानीयका कारण अघि बढ्न सक्दैनन् । स्थानीय सरकारका जनप्रतिनिधिले पटकपटक विवाद साम्य पार्न खोजेपनि स्थानीयको हठका कारण योजनाले पूर्णता पाउँदैन । बैतडीको पाटन नगरपालिकामा पनि यस्तै नियति दोहोरिएको छ । 

 

पाटन नगरपालिका वडा न. ४ को जेउडे गाउँबाट अर्को गाउँमा पुग्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बाटो निर्माण सुरु भएको थियो । तर, बाटो बनाउने क्रममा तीन जना स्थानीयले विरोध गरे । हसिया बोकेर भौतिक आक्रमणमा नै उत्रिन थालेपछि सडक खन्ने काम बन्द हुन पुग्यो । स्थानीयका लागि नै महत्वपूर्ण हुने बाटो स्थानीय कै अवरोधका कारण बन्न सकेन । 

 

दुई गाउँलाई मल्लो जेउडे र तल्लो जेउडे भनिन्छ । तर, सडक नहुँदा यी दुई गाउँ जोड्न मुस्किल छ ।२४ सै घण्टा ओहोर–दोहोर गर्न, बालबालिकालाई विद्यालय जान, बिरामी बोक्न तथा मलामी जान समेत यहीबाटो प्रयोग हुन्छ । तर, केहि व्यक्तिको विरोधका कारण बन्नै लागेको बाटोको काम अघि बढ्न सकेन । 

 

बाटो खन्न लागेको गाउँमा प्राथमिक विद्यालय समेत छ । दुवै गाउँका बालबालिकाले यही विद्यालय पढ्छन् । तर आफ्नै छोराछोरी पढ्ने विद्यालय जाने बाटो बन्न नसक्दा स्थानीय चिन्तित छन् । अहिले नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षले विरोध गर्नेलाई पनि मनाएर बाटो निर्माण गरेरै छोड्ने दावी गर्छन् । 

 

यो बाटो त एक उदाहरण मात्रै हो । हरेक जनप्रतिनिधि यस्तै विवाद झेल्दै आएका छन् । कहिले योजनाको उपभोक्ता समितिमा बस्न नपाएका व्यक्तिबाट विरोध हुने गर्दछ भने कहिले जग्गा मासिने भन्दै यसैगरि विरोध र अवरोध हुने गर्दछ । यसरी विरोधका कारण बजेट फ्रिज हुने गरेको छ । जसका कारण विकास निर्माण अवरुद्ध भइरहेको छ ।