close

रिब्दीकोटमा स्मार्ट कृषि कार्यक्रमकाे तरक्की (भिडियो खबर)

रिब्दीकोटमा स्मार्ट कृषि कार्यक्रमकाे तरक्की (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- दशकौँ देखि नेपाललाई कृषि प्रधान देश भनेर भन्ने गरिन्छ । मुलुकका लागि एक मात्र भरपर्दो र गुजारा चलाउनका लागि निर्वाहमुखी कृषिबाट जनता लामो समय देखि कृषिमै आश्रित छन् । कृषिमा सरकारको लगानी पनि ठूलो छ । तर, परिर्वतन र विकास न्यून छ । किसानको जीवनस्तरमा सुधार हुन सकेको छैन । तर, पाल्पाको एक गाउँका किसान भने ढिलै भए पनि स्थानीय सरकारबाट पाएको सहयोगले कृषिमा आमूल परिवर्तन देखाउन तर्फ अग्रसर भएका छन् ।

 

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ६ का कृषक स्मार्ट कृषि कार्यक्रम मार्फत समृद्ध बन्दै गएका छन् । पुस्तौँ देखि निर्वाहमुखी कृषि कर्म गर्दै आएका किसान पछिल्लो समय स्मार्ट कृषि कार्यक्रम मार्फत थप व्यावसायिक र प्रविधि मैत्री कृषि अगाँल्नेतर्फ लागेका छन् । गाउँघरमा ज्ञान, सिप, गुणस्तरीय बीउविजन र सिँचाइको कमीमा निर्वाहमुखी कृषि गर्दै आएका किसानको बारीमा अहिले उन्नत जातको विभिन्न कृषि उपज टनेलमा फल्न थालेका छन् । 

 

६० लाखको लगानीमा सुरु भएको पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमबाट पालिकाको वडा नं ६ ठिमुरेका १ सय १० घरधुरी लाभवान्वित भएका छन् । किसान पछिल्लो समय कृषिमा अनुदान, सिँचाइ सुविधा, उत्पादनमा अनुदान, गुणस्तरीय बीउविजन, बजारीकरण, प्राविधिक ज्ञान पाएपछि कृषि कर्मप्रति हौसिएका छन् । प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्र पाल्पाको ५० लाख र रिब्दीकोटको १० लाख लगानीमा स्मार्ट कृषि गाउँ कार्यक्रम विगत ७ महिना देखि सञ्चालनमा छ । स्मार्ट कार्यक्रमले किसानलाई व्यावसायिक बनाउन सहयोग समेत गरेको छ । 

 

लुम्बिनी प्रदेश सरकारको महत्वकांक्षी कार्यक्रम अन्तर्गत रहेको यस कार्यक्रमले रिब्दीकोटको वडा नं ६ ठिमुरेमा कृषि कर्मबाट विस्थापित नै हुने अवस्थामा पुगेका कृषकलाई व्यावसायिक बनाउन टेवा पुर्‍याएको छ । कृषिमा अचुक सम्भावना बोकेको रिब्दीकोटले समेत कृषकलाई व्यावासायिक बनाउन कृषिमा विभिन्न परियोजना मार्फत सहयोग गर्दै आएको छ । 

 

निर्वाहमुखी कृषि गर्दै आएका किसानलाई थप व्यावसायिक बनाउन स्मार्ट टोल विकास कार्यक्रमले ठूलो राहत मिलेको छ । तर, ग्रामीण भेगमा रहेर कृषि गर्ने किसानलाई बजारीकरणका लागि ढुवानी गर्न भने बाटोको निकै समस्या छ । त्यसतर्फ पनि स्थानीय सरकारले सोच्नुपर्ने किसानको माग छ ।