close

इस्माका युवालाई पालिकाको साथ (भिडियो खबर)

इस्माका युवालाई पालिकाको साथ (भिडियो खबर)

ADVERTISEMENT

गुल्मी- स्थानीय तहले ल्याउने बजेटमा समावेश भएका योजनामा सबैभन्दा धेरै कार्यक्रम कृषि क्षेत्रसँग सम्बन्धित हुने गर्दछ । कृषिमा यान्त्रिकरण, रोजगारी सृजना, अनुदान र उपकरण वितरण नै मुख्य लक्ष्य लिइएको हुन्छ । अझ, कृषकको पनि लगानी रहने गरी कर्जा वितरण, सहुलियत ब्जादरमा ऋण दिने योजना अधिकांश पालिकाले बनाएका हुन्छन् । यस्तै, योजना बनाएर गुल्मीको इस्मा गाउँपालिकाले ३० जना युवालाई शुन्य ब्याज दरमा व्यावसायिक कर्जा प्रदान गरेको छ ।

 

पालिकाले बनाएको योजनाले स्वदेशमै समृद्धिको सपना बोकेका युवालाई उर्जा थप्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका ३० जना युवालाई शुन्य ब्याज दरमा व्यावसायिक कर्जा प्रदान गरिएको छ । गाउँपालिकाको सहकार्यमा उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले युवा उद्यमीलाई कर्जा प्रदान गरेको हो । व्यवसायको योजना अनुसार प्रति व्यक्ति ५० हजारदेखि दुई लाखसम्म कर्जा प्रदान गरिएको छ । आर्थिक वर्ष ०७७/०७८ मा ३० लाख कर्जा वितरण गरिएको सहकारीले जनाएको छ । 

 

बाख्रापालन, कुखुरा पालन, बंगुर पालन, मोटरसाइकल मर्मत, मुढा उत्पादन, माछापालन तथा लसुन खेती लगायतका व्यवसाय सञ्चालन गर्न उद्यमीले कर्जा प्राप्त गरेका छन् । कर्जाको ब्याज गाउँपालिकाले तिरिदिनेछ भने उद्यमीले दुई वर्षमा रकम फिर्ता गर्नुपर्नेछ । युवालाई स्वरोगार बनाउन गत वर्षदेखि कार्यान्वयनमा रहेको उद्यम विकास कोष कार्यक्रमलाई गाउँपालिकाले अहिले पनि निरन्तरता दिएको छ । जसले स्वदेशमै समृद्धिको सपना बोकेका युवालाई उर्जा भरेको छ ।

 

अहिले गाउँपालिकाले स्थानीय स्तरमा रोजगारी प्रदान गरेर जनताको आयस्तरमा वृद्धि गर्न न्यूनतम ३० दिनको रोजगारी ३ सय ५० जनालाई प्रदान गर्ने गरी “अध्यक्ष रोजगार कार्यक्रम” सञ्चालनको नीति लिएको छ । गाउँपालिकाले सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना मार्फत ३ करोड बजेट परिचालन गरेको छ । 

 

अहिले पनि हजारौँ युवा परदेशको तातो घाममा समृद्धिको सपना बुनिरहेका छन् । जसका कारण गाउँका खेतबारीमा उम्रिएको वनमारा उखेल्ने कोहि छैनन् । कृषिमा आकर्षण बढाउन गाउँपालिकाले स्वदेशमै उद्यम मार्फत स्वरोजगार बन्ने युवालाई प्रदान गरेको निब्र्याजी कर्जा कार्यक्रम उदाहरणीय छ । जसलाई सफल बनाउन गाउँपालिका, सहकारी र उद्यमी एक मनका साथ अगाडी बढ्नुको विकल्प छैन ।