close

भीमादमा साढे ५८ करोड बढीको बजेट सार्वजनिक

भीमादमा साढे ५८ करोड बढीको बजेट सार्वजनिक

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको भीमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

 

नवौँ नगरसभाले चालू वर्षका लागि ५८ करोड ५६ लाख ८ हजार रुपैयाँको बजेट ल्याइएको उपप्रमुख शारदा खनालले जानकारी दिइन् । उनका अनुसार चालूतर्फ ३७ करोड ४ लाख १० हजार ८ सय ७० र पुँजीगततर्फ २१ करोड ५१ लाख ९७ हजार १ सय ३० रुपैयाँ विनियोजन गरिएको छ ।

 

चालूमा ६३.३ प्रतिशत र पुँजीगतमा ३६.७ प्रतिशत विनियोजन गरिएको हो । सामाजिक विकास शीर्षकमा नगरले आधा बढी बजेट छुट्याएको छ । ३० करोड १ लाख २० हजार रुपैयाँ सामाजिक विकासका लागि विनियोजन भएको छ ।

 

त्यसपछिको ठूलो रकम पुर्वाधार विकास शीर्षकमा १६ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख खनालले बताइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड २० लाख र आर्थिक विकासतर्फ ३ करोड ४५ लाख ७७ हजार १ सय ३० रुपैयाँ विनियोजन भएको छ । 

 

आम्दानीतर्फ संघीय सरकारबाट समानीकरण अनुदानमा ११ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने खनालले बताइन् । ससर्त चालू अनुदान २४ करोड २४ लाख, ससर्त पुँजीगत अनुदान २ करोड २९ लाख, विशेष अनुदान ४२ लाख र संघीय सरकारबाट राजस्व बाँडफाँटमा ८ करोड ४१ लाख ८७ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ । 

 

गण्डकी प्रदेश सरकारको वित्तिय समानीकरण अनुदान १ करोड ३८ लाख ४२ हजार, समपुरक अनुदान १ करोड, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ५० लाख ७९ हजार रुपैयाँ प्राप्त हुनेछ । 

 

घरजग्गा रजिस्ट्रेसनबाट ४० लाख आम्दानी हुने अनुमान छ । यस्तै, भीमादले २ करोड ५० लाख रुपैयाँ मात्र आन्तरिक स्रोतबाट आम्दानी हुने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षमा खर्च नभएको ४ करोड १४ लाख रुपैयाँ पनि आर्थिक वर्षमा उपयोग गरिनेछ ।

 

नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका पूर्वआर्थिक मामला तथा योजनामन्त्री किरण गुरुङले अझै पनि संघीयताको प्रारम्भिक अवस्थामा रहेको बताए । 

 

स्थानीय तहमा कर्मचारी फेरबदल भइरहँदा विकासले स्थायित्व प्राप्त गर्न नसकेको उनको भनाइ छ । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङले भने, ‘स्थिर प्रशासनिक संयन्त्र नभएसम्म बजेट खर्च हुन नसक्ने समस्या रहन्छ ।’ 

 

संविधानसभा सदस्य टुकराज सिग्देलले संघीयता कार्यान्वयन गर्न बजेटले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले प्राकृतिक स्रोत दोहनको विषयमा भीमादमा प्रश्न उठ्ने गरेकाले ध्यान दिन सुझाए ।