close

गुल्मीका १९ विद्यालयका विद्यार्थीलाई झोला वितरण

गुल्मीका १९ विद्यालयका विद्यार्थीलाई झोला वितरण

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीका १९ विद्यालयका विद्यार्थीलाई चाइना फाउन्डेसनको सहयोगमा राष्ट्रिय अपांग पुनर्स्थाना समाज काठमाडाैंले झोलासहितको सामग्री वितरण गरेको छ । 


झोलासहितको सामग्रीका लागि पूर्वमन्त्री गोकर्ण विष्टले केन्द्रीय स्तरमा पहल गरेका थिए । चाइना फाउन्डेसनले इस्माको कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको २ थान अक्सिजन कन्सन्ट्रेटरसहित पालुखा मावि, ठाढुंगा मावि र सुन्तलादेवी निमाविका विद्यार्थीलाई झोला वितरण गरेको हो ।


शुक्रबार राष्ट्रिय अपांग पुनस्र्थापना समाज र गुल्मेली सहयोगी हातको टोलीले गुल्मी दरबार गाउँपालिकाको राजा रुन्खादह मावि र धुर्कोट गाउँपालिकाको भगवति माविका विद्यार्थीलाई झोला उपलब्ध गराएको राष्ट्रिय अपांग पुनर्स्थाना समाजका प्रतिनिधि कृष्णप्रसाद ढकालले जानकारी दिए । 


त्यस्तै, मदाने गाउँपालिकाको म्यालपोखरी मावि, शारदा मावि, रियाले मावि, नमुना प्रावि, खन्युखर्क प्रावि, हर्रे प्रावि, शिवालय प्रावि, तिनधारे प्रावि र सिर्सनी निमाविका विद्यार्थीलाई झोला वितरण गरिएको हो ।


मदाने गाउँपालिकाकै सिद्धार्थ निमावि, सिद्धपोखरी प्रावि, सूर्योदय मावि, देउराली प्रावि र कमेरपोखरी माविका विद्यार्थीलाई झोला वितरण गरिएको ढकालले बताए । १९ विद्यालयका करिब ३ हजार विद्यार्थीका लागि १ करोड १७ लाख रुपैयाँ बराबरको झोला वितरण गरिएको राष्ट्रिय अपांग पुनर्स्थाना समाजले जनाएको छ ।


प्रतिविद्यार्थी टिपिन, बोतल, कलर, स्वास्थ्य सामग्रीसहित करिब ४ हजार गोटा झोला प्रदान गरिएको गुुल्मेली सहयोगी हातका कोषाध्यक्ष रमेश काउछाले जानकारी दिए । कक्षा ८ सम्मका सबै विद्यार्थीका लागि झोला प्रदान गरिएको हो । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिने बताए । 


उनले स्थानीय तहले पनि विद्यालयको पूर्वाधार विकाससँगै शिक्षामा गुणस्तर कायम गर्न विभिन्न काम गरिरहेको बताउँदै गैरसरकारी संस्थाहरूको सहयोगले अझै ऊर्जा प्राप्त भएको जानकारी दिए । राष्ट्रिय अपांग पुनर्स्थाना समाजका प्रतिनिधि कृष्णप्रसाद ढकालले सरकारी विद्यालमा विद्यार्थीको आकर्षण बढाउन पूर्वमन्त्री विष्टको पहल सकारात्मक रहेको बताए ।


गुल्मेली सहयोगी हातका सचिव विमल घिमिरेले झोला वितरणपछि कोभिडले लामो समय विद्यालय बन्द भए पनि विद्यार्थीमाझ ऊर्जा पलाएको बताए । उनले जिल्लाको विपद्मा मात्रै नभएर सहयोगी हातले शिक्षा क्षेत्रमा पनि समन्वय गर्न पाएकामा खुसी व्यक्त गरे ।


झोला वितरणको समन्वय गर्न सहयोगी हातका अध्यक्ष लीला खरेल, सचिव विमल घिमिरे, कोषाध्यक्ष रमेश काउछा, सदस्य सुशीलकुमार भट्टराईसहितको टोली गुल्मी आएको थियो ।