close

स्वामीकार्तिकमा उत्पादित ६० हजार क्विन्टल प्याजले पाएन बजार 

स्वामीकार्तिकमा उत्पादित ६० हजार क्विन्टल प्याजले पाएन बजार 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको प्याजले बजार नपाउँदा स्थानीय चिन्तित बनेका छन् । वडा नम्बर १ बाहुनीका ४० बढी स्थानीयले व्यावसायिक रूपमा प्याज खेती गरे पनि बजार नपाउँदा चिन्तित बनेका हुन् । परम्परागत खेती छाडेर प्याज उत्पादन गरेका स्थानीयले बिक्री नहुँदा घरमै कुहिन थालेको छ । गहुँ, मकै खेती छाडेर प्याज खेती गरेका स्थानियले यो वर्ष अनुमानित ६० हजार क्विन्टल प्याज उत्पादन गरेका छन ।


अनुमानभन्दा बढी उत्पादन भएको प्याज घरमा राख्ने ठाउँ अभाव हुदा गाउँ नजिकैको विद्यालयमा भण्डारण गर्ने गरेको स्थानीयले बताए । भण्डारण भएको प्याजले बजार नपाएपछि दैनिक कुहिएर खेर जान थालेको उनीहरूको गुनासो छ । 


उत्पादन भएको प्याज दैनिकजसो कुहिएर खेर जान थाले पनि स्थानीय र प्रदेश सरकारबाट ढुवानीका लागि अनुदान पाएका छैन ।  ‘स्थानीयका घरगोठ प्याजले भरिएका छन् तर बजार पाइएको छैन’, वडा नम्बर १ बाहुनीका अजय विकले भने, ‘करिब ५ हजार क्विन्टल प्याज खेर जाने अवस्थामा छ ।’ गहुँ , मकै रोप्ने खेतमा प्याज खेती गरेका विकले ४ हजार ५ सय क्विन्टल प्याज उत्पादन भएको जानकारी दिए । गहुँ भन्दा प्याज दोब्बरले उत्पादन भए पनि बजार नहुँदा खेर जाने अवस्था आएको विकले सुनाए ।


कृषि ज्ञान केन्द्र बाजुराले बाहुनीलाई प्याज पकेट क्षेत्र घोषणा गरेपछि स्थानीय यो खेतीमा आकर्षित भएका थिए । केही वर्ष अगाडि आफूलाई तरकारी खान मात्र प्याज फलाउने गरेका स्थानीयले यो वर्ष बजार पाए अरूलाई पनि खुवाउने योजना बनाएका थिए ।


उत्पादन राम्रो हुने भनेर केन्द्रले स्थानीयलाई प्याज खेतीतर्फ आकर्षित गराए पनि अहिले उत्पादन भएपछि नजिकै नआएको प्याज पकेट क्षेत्रका सञ्चालक समिति सदस्य गणेश विकले बताए । उनले भने, ‘पहिले ज्ञान केन्द्रले स्थानीयलाई उत्पादन भएको वस्तु बजारीकरण गरिदिन्छौँ भन्यो । ढुवानीमा अनुदान दिने आश्वासन देखायो । तर, अहिले उत्पादन बढी भएपछि बेवास्ता गरेको छ ।’  प्याजले घरको कुरै छैन, गाईगोरु बाँध्ने गोठसमेत भरिएको छ । घरमा राख्ने ठाउँ नभएर विद्यालयमा राख्ने गरिएको उनले बताए । 


गाउँका ४० बढी स्थानीयले उत्पादन गरेको करिब ६० हजार क्विन्टल प्याजले बजार पाएको छैन । ‘स्थानीय बजारमा खपत हुन गाह्रो छ । अन्यन्त्र लैजान न पैसा छ, न त बाटो । स्थानीय र प्रदेश सरकारले ढुवानीमा सहजीकरण गरिदिए सजिलो हुने थियो’, विकले भने । यो वर्ष प्याजको बजारीकरण नभए अर्काे पटक स्थानीयले उत्पादन नगर्ने योजना बनाएको उनको भनाइ छ । 

 

प्याजको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको वडा नम्बर १ बाहुनीका किसानले यो वर्ष गहुँ फल्ने सबै खेतमा प्याज रोपेपछि सोचेभन्दा राम्रो उत्पादन भएको छ ।  ठूलो परिमाणमा उत्पादित प्याजले बजार पाउन नसक्दा उनीहरूको लागतसमेत खेर जाने अवस्थामा पुगेको छ ।


‘प्याज सोचेभन्दा धेरै उत्पादन भएपछि भण्डारण तथा व्यवस्थापन नहुँदा कुहिन थालेको छ । प्याज कुहिन थालेपछि पूरै गाउँमा गन्हाउन थालेको छ’, अर्का किसान सतल विकले भने, ‘अन्न फल्ने खेतभरि प्याज लगाएका थियौँ । प्याज धेरै फल्यो । बजारीकरणको समस्या छ । बाँकी रहेको प्याजसमेत कुहिने चिन्ता बढेको छ ।’ उत्पादित प्याज लकडाउनमा स्कुल नखुलेपछि त्यहाँ भण्डारण गरिएको हो । अहिले स्कुल सञ्चालन भएपछि कहाँ राख्ने भन्ने चिन्ता थपिएको स्थानीय राजेश विक सुनाउँछन् । 


उनले भने, ‘गाउँमा सबैभन्दा बढी मैले प्याज फलाएको थिएँ । खेतबाट बोकेर घर पुर्‍याइयो । ६० क्विन्टल प्याज घर पुर्‍याउँदा घरमा राख्ने नै ठाउँ भएन । स्कुलमा लगेर केही दिन सुकाइयो । आधाभन्दा बढी सुकाउने ठाउँ नभएर कुहिएर खेर गयो । पैसा समाउने बेला आफ्नो सम्पत्ति कुहिँदा मन रोएको छ ।’

 

कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोविन्द सिजापतिले सोचेभन्दा बढी प्याज उत्पादन भएको बताए । ‘प्याज व्यवस्थापनका लागि ढुवानीको व्यवस्था गर्दै छौँ । तर, स्थानीयसँग मूल्यमा कुरो नमिल्दा र बाटो अवरुद्ध हुँदा समस्या भएको छ । उद्योग वाणिज्य संघ बाजुराबाट मूल्य निर्धारण भए एक-दुई दिनभित्रै खच्चडबाट ढुवानी गरी मार्तडी ल्याउँछाैँ’, उनले भने ।