close

कोल्टी डिपोमा खाद्यान्न अभाव 

कोल्टी डिपोमा खाद्यान्न अभाव 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर २ मा कोल्टीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयमा खाद्यान्न अभाव भएको छ ।


लगातारको वर्षाले बाटो अवरुद्ध हुँदा चामल ढुवानीमा समस्या भएपछि कोल्टीमा खाद्यान्न अभाव देखिएको छ । चामल ढुवानी जिम्मा लिएका ठेकेदारले बाटो अवरुद्धका कारण समयमै ढुवानी गर्न नसक्दा समस्या भएको हो । 


पहिले ढुवानी भएको चामल मौज्दात नभएको र अहिले ढुवानी हुन नसकेकाले खाद्यान्न अभाव भएको खाद्य संस्थान कार्यालय कोल्टीले जनाएको छ ।  वर्षाले पटक-पटक अवरुद्ध बनेको सडक सञ्चालनमा नआउँदा चामल ढुवानी हुन नसकेकाले अभाव भएको कार्यालय प्रमुख नवीन अर्यालले जानकारी दिए । 

 

उनले भने, ‘संस्थानमा चामल अभाव हुन थालेपछि अहिले प्रतिव्यक्तिलाई १० केजी वितरण गर्ने गरेका छौँ । पहिले–पहिले प्रतिव्यक्ति ४० केजीसम्म वितरण गरिन्थ्यो । अहिले मौज्दात चामल सकियो ।’


खाद्य संस्थान कोल्टीमा मौज्दात ३ सय क्विन्टल चामल सकिएपछि कार्यालयमा ताला लगाउनुबाहेक अन्य विकल्प नभएको उनको भनाइ छ । चामल अभाव भएको लामो समय भइसक्दा पनि ढुवानीका लागि कतैबाट पहल हुन नसकेको कार्यालयले जनाएको छ ।


कोल्टी शाखामा पर्याप्त चामल नभएपछि जिल्ला प्रशासन कार्यालय बाजुराले प्रतिव्यक्ति १० केजी बिक्री वितरण गर्न निर्देशन दिएसँगै सोहीअनुसार बिक्री गरिएको अर्यालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाजुराले अर्को व्यवस्था नहुँदासम्म प्रतिव्यक्ति १० केजीका दरले चामल बिक्री गर्न पत्राचार गरेको संस्थान कार्यालय कोल्टीले जनाएको छ । 


जिल्लाको व्यापारिक केन्द्र कोल्टीमा चामल नहुँदा बाजुरालगायत सीमा जोडिएका छिमेकी हुम्ला, मुगु र कालीकोटका स्थानीयलाई समस्या भएको छ । संस्थानमा दैनिक चामल लिन स्थानीयको घुइँचो लाग्ने गरेको छ ।


आर्थिक वर्ष २०७७/७८ मा कोल्टी शाखाका लागि १० हजार क्विन्टल चामल स्वीकृत भए पनि ८ हजार क्विन्टल मात्र आपूर्ति भएको छ । २ हजार क्विन्टल चामल सुर्खेतबाट नआएको शाखाले बताएको छ । यो आर्थिक वर्षमा ५ हजार क्विन्टल स्वीकृत भए पनि अहिलेसम्म ढुवानीको सुरसार नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले जनाएको छ ।