close

सहयोगी हात र प्रवासीले गुल्मीका स्थानीय तहलाई दिए ४ लाख मास्क

सहयोगी हात र प्रवासीले गुल्मीका स्थानीय तहलाई दिए ४ लाख मास्क

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मी जिल्ला समाज युकेको सहयोगमा गुल्मेली सहयोगी हातको टोलीले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई करिब ४ लाख मास्क सहयोग गरेको छ । शुक्रबार गुल्मेली सहयोगी हातका अध्यक्ष लीला खरेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई मास्क प्रदान गरेको हो । 


जिल्लाका २ नगरपालिकालाई १०/१० कार्टुन, गाउँपालिकालाई १०/१० कार्टुन, जिल्ला प्रशासन कार्यालयलाई १३ कार्टुन, गुल्मी अस्पताललाई ८ कार्टुन, ४ प्राथमिक स्वास्थ्य केन्द्रलाई १/१ कार्टुन, पत्रकार महासंघ गुल्मीलाई २ कार्टुन र स्वतन्त्र विद्यार्थी युनियन रेसुंगा बहुमुखी क्याम्पसलाई १ गरेर १ सय ५२ कार्टुन मास्क वितरण गरिएको गुल्मेली सहयोगी हातका सचिव विमल घिमिरेले बताए ।

 

सहयोगीले उपलब्ध गराएको मास्क प्रमुख जिल्ला अधिकारी शर्माले रेसुंगा नगरपालिका, इस्मा गाउँपालिका, स्ववियु, पत्रकार महासंघ र सुरक्षा निकायका प्रमुखलगायतलाई वितरण गरिन् । गुल्मेली सहयोगी हातका अध्यक्ष खरेलले जिल्लाको विपद्मा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । केन्द्रमार्फत काठमाडाैँसँग गुल्मी र गुल्मीसँग परदेश जोडेर जिल्लामा सहयोग गरिरहेको उनको भनाइ छ ।


‘समन्वय गरेर पनि जिल्लामा ठुलो सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेका छाैँ। स्वदेश तथा परदेशबाट सहयोग गर्नेप्रति आभारी छौँ,’ उनले भने, ‘आवश्यकता महसुस भए थप सहयोग गर्न तयार छौँ ।’

 

प्रमुख जिल्ला अधिकारी शर्माले विपद्मा गुल्मीहरूको मन र सहयोगबाट प्रभावित भएको बताइन् । उनले कोभिडविरुद्धको अभियान, बाढीपहिरो र विपन्नको उपचारमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिइन् ।

 

विपद्मा गुल्मेली सहयोगी हात

गुल्मेली सहयोगी हात गुल्मीमा जन्मिएर स्थायी वा अस्थायी रूपमा काठमाडौं बसोबास गर्ने गुल्मेलीहरूको साझा संस्था हो । यो संस्थाले गत वर्ष पनि कोभिड–१९ विरुद्ध आवश्यक पिपिई, बेड, मास्क र स्यानिटाइजरलगायत सामग्री जिल्लाका स्थानीय तहमा पठाएको थियो । 


सहयोगी हात अभियानमार्फत सयौँ जनालाई राहत घरघरमा पुर्‍याइएको गुल्मेली सहयोगी हातका कोषाध्यक्ष रमेश काउछाले जानकारी दिए ।