close

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भिडियाे खबर)

विमानस्थलको हालसम्म ९७ प्रतिशत भौतिक निर्माण

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भिडियाे खबर)

विमानस्थलको हालसम्म ९७ प्रतिशत भौतिक निर्माण

ADVERTISEMENT

रुपन्देही- राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकोे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । २०७१ सालमा निर्माण सुरु भएको आयोजना सम्पन्न हुनै लाग्दा सरकारदेखि भैरहवाबासी निकै उत्साहित छन् । कोरोना भाइरसको महामारी नआएको भए अहिले विमानस्थल सञ्चालनमा आइसक्ने थियो । विभिन्न आरोह-अवरोह छिचोल्दै अब विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । जसका लागि छिट्टै परीक्षण उडान गर्ने तयारीसमेत गरिएको छ । 


निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । 


विमानस्थलको बाह्य संरचनाको काम सकिएको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी छ । क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच÷सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । 

 

उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ । परीक्षण उडान गर्न लागि एरो थाईसँग सम्झौता गरिएको छ । तर, परीक्षण उडान हुने मिति भने अझै टुंगिएको छैन । 


विमानस्थलको अहिले सम्म ९७ प्रतिशत भौतिक निर्माण भएको छ । विमानस्थलमा धावनमार्ग , ट्याक्सी वे, टर्मिनल भवन , विमानस्थल पार्किङ्ग क्षेत्रका काम सकिएको छ । कोरोना संक्रमणको कारणले विदेशमा रहेका कामदारलाई ल्याउन नसक्दा टर्मिनल भवनमा उपकरण जडानको काम प्रभावित हुँदा आयोजनाको समय बढी लागेको देखिने विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थल सञ्चालनको लागि आवश्यकता पर्ने मुख्य पूर्वाधार अहिले पनि निर्माण भइरहेको छ । 

 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु ६ अर्ब ८२ करोडको काम भएको छ । दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । 


यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी छ । भैरहवा विमानस्थल नेपाल–भारत सीमा नजिक छ । अन्तर्राष्ट्रिय उडानका जहाजले भारतीय आकाश छुन सक्ने अवस्थामा छुट्टाछुट्टै अनुमति लिनुपर्छ । यसले गर्दा हरेक उडान प्रभावित हुन सक्छ । यसकारण, विमानस्थल संचालनमा आउनु अगाडि नै उडानबारे नेपाल–भारत सम्झौता गर्नु आवश्यक छ ।