close

व्यवस्थित बन्दै नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल (भिडियाे खबर)

व्यवस्थित बन्दै नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल (भिडियाे खबर)

ADVERTISEMENT

भक्तपुर- दोस्रो लहरको कोरोना भाइरस निकै संक्रामक हुन पुग्यो । संक्रमितको संख्या पनि अत्यास लाग्दो ढंगले बढ्यो । महामारी नियन्त्रणमा ल्याउन अहम् भूमिका पनि स्थानीय तहको काँधमा आइपुग्यो । अधिकांश स्थानीय सरकारले विभिन्न अस्पतालसँग सहकार्य गर्नुपर्यो । यस्तै, सहकार्य र सहयोगले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि महामारीलाई जित्न सक्यो । 


किनभने पालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल अहोरात्र खटिएको थियो । अहिले पनि तेस्रो लहरको सम्भावना रहेको भन्दै स्थानीय तहलाई तयारी अवस्थामा रहन सरकारले भनिरहेको छ । तर, मध्यपुर थिमिलाई कुनै चिन्ता छैन । किनकि  पालिका मातहत रहेको अस्पताल आफै तयारीमा जुटेको छ । 


२०७६ सालबाट मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले जनताको इच्छा अनुरुप स्वास्थ्य सेवा दिँदै आएको छ । सामान्य हेल्थ संस्थाबाट सञ्चालित अस्पतालले हाल २५ शय्या एचडियुसहित एक सय २ शय्यामा स्थानीयलाई सेवा दिदै आएको छ । 


अबको केही दिनमा थप ५० शय्या क्षमता बढाई एक सय ५० क्षमता शय्याको अस्पतालको रूपमा सञ्चालनमा ल्याउने योजना पालिकाको छ । अस्पतालले हाल शाखागत रूपमा सामान्य देखि जटिल प्रकृतिको उपचार समेत दिँदै आएको छ । कुनै समय दैनिक दुई सय जना सेवाग्राही आउने अस्पतालमा हाल दैनिक ८ सय जना सेवाग्राही अस्पताल आउने गरेका छन् ।

 

दोस्रो चरणको कोभिड १९ विरुद्ध लड्न अस्पतालले २५ शय्या एचडियु, पीसीआर परीक्षण ल्याब, ९० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट र रेडियोलोजी ब्लकको स्थापना गरेको छ । केही महिनाअघि शुन्य कोरोना संक्रमित पुगेको अस्पतालमा हाल विस्तारै कोरोना संक्रमितको संख्या फेरि बढ्दै छ । तेस्रो लहरको कोरोनालाई रोकथामका लागि अस्पताल तयारी अवस्थामा छ । आवश्यक सामग्री जडानसँगै बालबालिकाका लागि ९ शय्यासँगै थप २५ शय्याको एचडियु जडान गरिएको छ ।

 

अस्पतालमा भौतिक पूर्वाधार निर्माण, भवन निर्माण, उपकरण जडानसँगै नीति नियम निर्माण गर्ने अधिकार पालिकाको छ । पालिकाको नगरसभाबाट अस्पताल सञ्चालनका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल तथा व्यवस्थापन सम्बन्धी आदेश २०७७ लागु गर्दै आएको छ । चार वर्षयता अस्पतालको क्षमता वृद्धिका लागि ४० करोड रुपैयाँ लगानी पालिकाले गरेको छ । 


भक्तपुरको कोरिया मैत्री नगरपालिका अस्पताल सन् १९९३ मा किंग इन्टरनेशनल हेल्थ केयरको रुपमा स्थापना भयो । सूर्यविनायकमा स्थापित यो संस्था १९९९ मा मध्यपुर थिमिमा सारियो । संस्थाको नाम र कामबाट प्रभावित भई संस्थालाई कोरियाबाट सहयोग आयो । र, सामान्य हेल्थ केयरबाट ५० शय्या क्षमताको अस्पताल बन्यो । सरकारको स्थानीय विकास मन्त्रालय अन्तर्गत विकास समिति ऐनबाट सञ्चालित अस्पताल समिति खारेज भएसँगै हाल मध्यपुर थिमि नगरपालिका मातहतमा भई सञ्चालन हुदै आएको छ ।